लहान । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानको मिति नजिकिंदै गर्दा सिरहामा चुनाव प्रसार कार्यालय र उम्मेदवार लक्षित विष्फोट र गोली प्रहारको घटना बढेपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाका अनुसार निर्वाचनको तयारी र मतदानको समयसम्म सर्वसाधारणलाई भरपर्दो सुरक्षा दिन जिल्लाका अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलमा दुई हजार तीन सय ५० म्यादीसहित दुई हजार दुई सय ५० नेपाल प्रहरी परिचालन गरिएको छ । त्यससँगै प्रहरी निरीक्षकको कमाण्डमा जिल्लामा २० जना प्रहरी रहने गरी रिजर्भ फोर्ससँगै हरेक गाउँ र नगरपालिकामा दुई÷ दुई वटाको दरले ३४ वटा मोवाइल टोली परिचालन गरिंदैछ ।
मतदानको दिन मतदानस्थलको सुरक्षाको भित्री भागमा म्यादी र नेपाल प्रहरी, त्यसको बाहिर सशस्त्र र बाहिरी भागको सुरक्षा नेपाली सेनाले गर्नेगरी सुरक्षा योजना बनाइएको प्रहरी उपरीक्षक कोइरालाले बताउनु भयो । प्रहरी उपरीक्षक कोइरालाका अनुसार त्यसका अतिरिक्त निर्वाचन नहुञ्जेल सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका जिल्लाका ५० ठाउँमा म्यादी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको अस्थायी विकेट टोली २४ घण्टा परिचालन गरिएको छ ।
त्यसैगरी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गोपाल गुरुङ्का अनुसार जिल्लाको १ र ३ नं. क्षेत्रलाई संवेदनशील क्षेत्रको रुपमा राखेर पाँच÷पाँच वटा स्ट्रयाकिङ् फोर्स, आठ÷आठ वटा मोवाइल टोली र क्षेत्रभरी हेर्नेगरी डिएसपीको कमाण्डमा २० जनाको रिजर्व टोली खटाइएको छ । क्षेत्र नं. २ र ४ लाई अति संवेदनशील क्षेत्रको रुपमा राख्दै १०÷१० वटा मोवाइल टोली र पाँच÷पाँच वटा स्ट्रयाकिङ् फोर्स परिचालन गरिएको छ । त्यस्तै, जिल्लाको समग्र निर्वाचन सुरक्षालाई कभर गर्नेगरी नेपाली सेनाले भने जिल्लाको १३ स्थानमा निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरी सुरक्षाको प्रबन्ध मिलाएको नेपाली सेनाको चोहर्वा गणले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार कांग्रेसको चुनावी आमसभालाई सम्बोधन गरेको भगवानपुरमै संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नं. १ का उम्मेदवार रहेका राजलाल यादव चढेको जिपमा नै बिहीबार राती गोली प्रहार भएको छ भने वाम गठबन्धनबाट सिरहा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेशचन्द्र दासको औरहीस्थित घर नजिकैको करेसा बारीमा शक्तिशाली विष्फोट भएको छ ।