राजविराज ४ साउन – डाक्नेस्वरी नगरपालिकामा उपभोक्ता समितिले गरिरहेको कामको लागत स्टिमेट माग गर्दा आमा छोरालाई उपभोक्ता समितिले निर्घात कुटपिट गरेका छन् ।
नगरपालिकाको वडा नम्बर ३ तरहीमा सडक ढलान कार्य भइरहेको र सो को लागत स्टिमेट माग गर्दा आमा छोरालाई निर्घात कुटपिट गरेको हो ।
साबिक तरही हाल डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ बस्ने २२ वर्षीय मो. कमाल र उनका ४५ वर्षीया आमा सरातुन खातुनलाई निर्घात कुटपिट गर्दा उनीहरुको अवस्था गम्भीर बनेको छ ।
घाइते दुबै जनाको गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजमा उपचार भइरहेको उनको पारिवारिक श्रोतले जनाएको छ ।
नगरपालिकाको वडा नम्बर ३ स्थित बिमल रायको घरदेखि दक्षिण जाने ३६८ मिटर बाटो ढलान कार्यमा वडा स्तरीय योजना अन्तर्गत रु. ४० लाख बजेट विनियोजना गरिएकोमा काम भइरहदा स्थानीय मो. कमालले सडकको लागत स्टिमेट माग गरेको हो ।
सो सडकको स्टिमेटमा ८ ईन्चमा डण्डी बाध्नु पर्नेमा साढे १० ईन्चमा डण्डी बाध्दै गरेको देखेर कमालले लागत स्टिमेट माग गरेका थिए ।
लागत स्टिमेट माग गर्दा उपभोक्ता समितिका सदस्य बिन्दी राय, मो. इद्रिश र अरु उपभोक्ता समितिकै नातेदारहरु मो. फिरोज, मो. अफरोज, सुरेश राय, राजेश राय मिलेर आमा छोरालाई निर्घात कुटपिट गरेका छन् ।
यस सम्बन्धमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मिलन दाहालले घटनाको आफुलाई अनोपचारिक जानकारी प्राप्त भएको तर लिखित रुपमा कुनै किसिमको उजुरी नगरपालिकामा नआएको कारण कारवाही प्रक्रिया अगाडी नबढाएको जानकारी दिए ।
वडा नम्बर ३ का वडा अध्यक्ष अरुण कुमार साहले स्टिमेट अनुसारको काम नभएको स्वीकार गरेका छन् । उनले सुरु देखि स्टिमेट अनुसारकै काम हुदै आएको भएपनि अन्त्यतिर आएर निर्माण सामग्रीको अपुगले गर्दा केही मिटर मात्रै डण्डी स्टिमेट भन्दा फरक तरिकाले लगाइएको जानकारी दिए ।
घटना र फेसबुक प्रतिक्रिया
डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ तरहीमा भइरहेको सडक ढलान कामको लागत स्टिमेट माग गर्ने स्थानीय मो. कमाल र उनका आमा सरातुन खातुन कुटिएको घटना सामाजिक संजाल फेसबुकमा पनि सार्वजनिक भएको छ ।
डाक्नेश्वरी युवा प्रतिष्ठान (डिवाईपी) ले उक्त घटनाको भिडियो तथा तस्विरहरु समाजिक संजाल फेसबुकमा सार्वजनिक गरेका छन् ।
फेसबुकमा सार्वजनिक सो घटनामा विभिन्न किसिमका कमेन्टसहरु आएको छ । जसमा ईन्जिनियर संजय साहले यसरी लागत ईस्टिमेट माग गर्ने आमा छोरालाई विकासको बाधकको संज्ञा दिएका छन् ।
उनले भनेका छन् “के यी आमा छोरा प्राविधिक हुन्, यिनीहरुलाई स्टिमेटको कति जानकारी छ । मलाई लाग्छ बास्तविक कुरा त्यो होइन होला विकासको बाधक नबनो ।”
ईन्जिनियर संजय साहको कमेन्टसमा डाक्नेश्वरी युवा प्रतिष्ठानले जवाफ लेख्दै भनेका छन् “सर हजुरको कुरा सुनरे एकदम दुख लागेको छ । स्टिमेटको जानकारी प्राविधिकले मात्र लिनुपर्ने हो । सुचना र जानकारीको हक त सम्पूर्ण जनतालाई छ । हैन र सर । सायद वास्तविकता हजुरलाई थाहा छ अलि प्रष्ट पारदिनुहुन्छ कि सर ।” भनी प्रश्न समेत गरेका छन् ।
उक्त फेसबुक पोष्टमा शम्भु साहले लेखेका छन् । “हाम्रो गाउँको बच्चाले पनि खबरदारी गर्ने अधिकार छ । सायद तपाईको गाउँमा नहोला । पिटेर अझै धेरै गल्ती ग¥यो ।”
यसरी समाजिक संजालमा उक्त घटनाप्रति अनेक किसिमका प्रतिक्रियाहरु देखिएको छ ।










