विनय कर्ण
राजविराज- सप्तरीमा विद्युत चुहावटमा वृद्धि हुँदै गएको छ । लक डाउन र कोभिड १९ संक्रमणका कारण चुहावट नियन्त्रणको काम रोकिएकाले बेढेको हो ।
जिल्ला भरिको तथ्यांकलाई हेर्ने हो भने अहिले यहाँ ३१ प्रतिशत विद्युत चुहावट कायम रहेको छ । तर प्राधिकरणले चुहावट नियन्त्रणका लागि ध्यान दिएको पाईंदैन ।
नेपाल विद्युत प्राधिकरणले जिल्लाको ३ स्थानबाट ग्राहकलाई विद्युत सेवा उपलब्ध गराउँदै आएकोमा विद्युत प्राधिकरण राजविराज ग्राहक सेवा केन्द्र अन्र्तगत ३५ दश्मलव ११ प्रतिशत, कंचनपुर सेवा केन्द्र अन्तर्गत २९ प्रतिशत र बोदे बरसाईन सेवा केन्द्र अन्तर्गत २९ प्रतिशत विद्युत चुहावट भईरहेको विद्युत प्राधिकरणले जनाएको छ ।
राजविराज वितरण केन्द्रका ईन्जिनियर विमल प्रसाद साहले लगातारको लकडाउन र कोरोना संक्रमणका कारण चुहावट नियन्त्रणको काम रोकिएको बताए । उनले चुहावट नियन्त्रणको कामलाई निरन्तरता दिन प्राधिकरण छलफल गरिरहेको जानकारी दिए । “लकडाउन भयो, कोराना संक्रमणले जिल्ला प्रभावित हुुँदा हामीले छठ सम्मका लागि चुहावट नियन्त्रणका काम रोकेका थियौं तर अव छिट्टै नै शुरु हुन्छ” साहले भने ।
विद्युत प्राधिकरण वोदेवरसाईका प्रमुख प्रदीप शर्माले चुहावट नियन्त्रण टोली छिट्टै परिचालन गर्न लागिएको बताए । उनले सुरक्षा निकाय संग समन्वय भईरहेकोले वोदे बरसाईन एरियामा चुहावट नियन्त्रण अव चाँडै शुरु हुने जानकारी दिए ।
कंचनपुर सेवा केन्द्रका प्रमुख रोशनकुमार सिंहले विद्युत चुहावट नियन्त्रण टोली खटाउने तयारी भईरहेको जानकारी दिए । उनले लकडाउन र कोभिडकालमा चुहावट बढेकाले नियन्त्रणको काम केही दिन भित्रै शुरु गर्न लागिएको बताए ।
सप्तरीमा विद्युत प्राधिकरणको कूल १ लाख ९ हजार २ सय ३५ ग्राहक छन् । जसमा राजविराज वितरण तथा सेवा केन्द्रमा ५१ हजार ६ सय ९, बोदे बरसाईनमा २७ हजार ५ सय, कंचनपुरमा ३० हजार १ सय २६ ग्राहक रहेको प्राधिकरणले जनाएको छ । जिल्लामा अहिले १७ दश्मलव २ मेगावाट विजुलीको डिमाण्ड रहेको छ ।
वितरण तथा सेवा केन्द्र चुहावट
१. राजविराज -३५.११ प्रतिशत
२. बोदे बरसाईन – २९ प्रतिशत
३. कंचनपुर -२९ प्रतिशत
वितरण तथा सेवा केन्द्र ग्राहक संख्या
१. राजविराज -५१,६०९
२. बोदे बरसाईन- २७,५००
३. कंचनपुर – ३०,१२६







