काठमाण्डौं। प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका मृगेन्द्रकुमार सिंह यादवलाई संविधानको प्रावधानविपरीत मन्त्री बनाएको पाइएको छ ।
प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका व्यक्तिलाई सोही निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाको कार्यकालभर मन्त्री बनाउन नपाइने कुरा संविधानमा प्रस्टसँग उल्लेख छ ।
यादव संविधानको धारा ७८ (१) बमोजिम मन्त्री नियुक्त भएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा देखिन्छ । जबकि प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको व्यक्ति धारा ७८ (१) बाट मन्त्री बन्न नसक्ने कुरा संविधानमा स्पष्ट रूपमा उल्लेख छ ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहायअनुसार नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयले सोमवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संविधानको धारा ७८ (१) मा गैरसांसदलाई मन्त्री बनाउन मिल्ने प्रावधान छ । तर, सोही धाराको उपधारा ४ ले प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको व्यक्तिलाई उपधारा १ बमोजिम मन्त्री बनाउन निषेध गर्छ ।
सोमवार मन्त्री नियुक्त भएका ३ मध्ये २ जना मोहम्मद इस्तियाक राई र प्रदीप यादव प्रतिनिधि सभाका बहालवाला सदस्य हुन् । उनीहरू संविधानको धारा ७६ (९) अनुसार नै मन्त्री बन्न सक्छन् ।
यहाँ धारा ७८ (१) यादवकै हकमा प्रयोग भएको सहजै बुझ्न सकिन्छ । ७६ (९) मा संघीय संसदको सदस्य मन्त्री बन्न सक्ने उल्लेख भए पनि उनको नियुक्तिमा जुन धारा कोट गरिएको छ, त्यस धाराबाट उनी मन्त्री बन्नै नसक्ने देखिन्छ ।
यादव साविक राष्ट्रिय जनता पार्टी नेपालबाट सप्तरी क्षेत्र नम्बर ४ मा उम्मेदवार बनी पराजित भएका थिए ।
प्रतिनिधि सभामा पराजित भएका यादव राजपाबाटै राष्ट्रिय सभा सदस्यमा चुनिएका थिए । हाल उनी राष्ट्रिय सभा सदस्य छन् ।
के भन्छ संविधान ?
संविधानको धारा ७८ (१) मा गैरसांसद पनि मन्त्री बन्न सक्ने व्यवस्था छ ।
उक्त उपधारामा भनिएको छ–
धारा ७६ को उपधारा (९)मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिशमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ ।
तर, प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको व्यक्तिलाई यो व्यवस्थामा टेकेर मन्त्री बन्न धारा ७८ कै उपधारा (४) ले रोक्छ ।
उक्त उपधारामा भनिएको छ–
उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन ।
उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए । हाल सोही निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा बहाल छ ।
सोहीकारण संविधानको धारा ७८ (१) अनुसार उनी कुनै पनि हालतमा मन्त्री बन्न नसक्ने देखिन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले यादवलाई कृषि तथा पशुपन्छी विकास मन्त्रीमा नियुक्त गरेकी छन् ।
राजावादी हुँदा क्षेत्रीय प्रशासक, मधेशवादी हुँदा मन्त्री
यादव शुरूदेखि नै राजावादी थिए। राजावादी भएकै कारण उनलाई राष्ट्रिय पञ्चायतको सदस्य समेत बनाइएको थियो। त्यसपछि उनी सद्भावना पार्टीमा आबद्ध भए।
गजेन्द्रनारायण सिंहको सम्पर्कमा आएका उनलाई सद्भावना पार्टीमा ठूलै जिम्मेवारी दिइएको थियो। तर जब तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन आयो तब उनी सद्भावना त्यागेर फेरि राजावादी कित्तामा उभिए ।
पुरस्कार स्वरूप तत्कालीन राजा ज्ञानेन्द्रले उनलाई मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय प्रशासक नियुक्त गरे ।
जनआन्दोलन २०६२/०६३ पछि उनी निष्क्रिय भएका थिए। लगत्तै दोस्रो मधेश आन्दोलन हुँदा उपेन्द्र यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरममा आबद्ध भए। मधेश आन्दोलनपछि सम्पन्न भएको पहिलो संविधान सभा निर्वाचनमा फोरमबाट उनले टिकट पाएका थिए। सप्तरीको ६ बाट निर्वाचित भएका यादवलाई फोरम अध्यक्ष उपेन्द्र यादवले त्यतिबेला नै पनि कृषि मन्त्री बनाएका थिए ।
उपेन्द्र यादव नेतृत्वको फोरमबाट विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक विभाजन भएपछि उनी गच्छदारसँग लागेका थिए। संविधान सभाको दोस्रो निर्वाचनमा फोरम लोकतान्त्रिकबाट उठे पनि उनी पराजित भए ।
गच्छदार नेपाली कांग्रेसमा लागेपछि उनी राजेन्द्र महतोको सम्पर्कमा आएर राष्ट्रिय जनता पार्टी नेपालमा आवद्ध भएका थिए।
राजपाले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनाए पनि उनी फेरि पराजित भएका थिए।
राजपाले उनलाई राष्ट्रिय सभाको दोस्रोपटकको निर्वाचनमा उम्मेदवार बनाएको थियो। उक्त निर्वाचनमा उनले आफ्नै सहोदर भाइ अनिरुद्र सिंह यादवलाई पराजित गरेका थिए। उनका भाइ अनिरुद्र उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीबाट उम्मेदवार बनेका थिए ।
सपा र राजपा मिलेर जनता समाजवादी पार्टी बन्यो । त्यतिबेला उनी पनि उपेन्द्रसहितको पार्टीमा आइपुगे । पछि जसपा हुँदा उनी पूर्व राजपा खेमाका नेतासँग लोसपामा गएनन् ।
राजेन्द्र महतोको साथ पाएर राष्ट्रिय सभा चुनाव जितेका यादवले अन्तिममा उपेन्द्र यादवको साथ रोजेका थिए।
आफ्नो संसदीय क्षेत्र समेत सप्तरीमा रहेकाले उक्त क्षेत्रलाई बलियो बनाउन उपेन्द्रले मृगेन्द्रलाई मन्त्री बनाएको चर्चा जसपामा छ ।लोकान्तरबाट







