लोकेन्द्र प्रसाद यादव
सप्तरीको डाक्नेश्वरी नगरपालिका अहिले नेपालकै “भ्रष्टाचार–बत्ती” परीक्षण केन्द्रको रूपमा चर्चामा आएको छ। त्यहाँका जनप्रतिनिधि र कर्मचारीहरूले मिलेर विजुलीको पोलमा स्ट्रीट लाइट होइन, “भ्रष्टाचारको झिल्को” झुन्ड्याउने ऐतिहासिक कार्य सम्पन्न गरेका छन्। अख्तियारको रिपोर्ट अनुसार, यो मिशन सफलतापूर्वक “कमसल बत्ती + महँगो बिल” फार्मुलाबाट सम्पन्न भयो।
सात जना सरकारी कर्मचारी र एक जना निर्माण व्यवसायी। यी आठजनाले मिलेर एउटा यस्तो सिनेम्याटिक योजना बनाएका थिए, जसले हलिउडको ‘Ocean’s Eleven’ लाई पनि लाज लगाउने थियो। फर्क फरक विभाग, फरक फरक जिम्मेवारी — तर एउटै लक्ष्य : “पोलमा झुन्ड्याउने पैसा आफ्नो खल्तीमा झुन्ड्याउने!”
कथावस्तु के थियो? २०७८/०७९ मा “उच्चस्तरीय” स्ट्रीट लाइट जडान गर्ने नाममा रू. ४८ लाख २४ हजार ८७४ को बजेट छुट्याइयो। काम के भयो भने, बत्ती नै जडान नभएको ठाउँमा “रिपोर्ट” लेखियो — झलमल्ल उज्यालो! अनि “फर्जी बिल” बाट रकम असारको घाम लाग्ने बित्तिकै पोखरीझैँ सुक्यो।
खास कुरा त के थाहा भयो भने… त्यो बत्तीको टेक्निकल स्पेसिफिकेसन “दश हजारको टर्चलाइट” भन्दा पनि कमस्तरको रहेछ। तर बिल चाहिँ त्यही बत्तीको एक थानको मूल्य “पाँच तारे होटलको झ्यालमा झुन्ड्याइएको झुम्का” बराबर।
विडम्बना के हो भने…नगरपालिकाका जनप्रतिनिधिले भने, “यो त जनताको सेवामा भएको प्रयोग हो। हामीले जनतालाई देखिने गरी उज्यालो नभए पनि नदेखिने तर प्रभावशाली उज्यालो दिन खोजेका थियौं।” के भन्नु! कस्तो वैज्ञानिक सोच! न देखिने लाइट, न जल्ने लाइट — तर प्रभावशाली लाइट। वास्तवमा, स्मार्ट सिटीको परिकल्पना यही हो! पोलमा बत्ती छैन, तर बिल छ। उज्यालो छैन, तर भुक्तानी छ। विकास छैन, तर प्रतिवेदन छ। अनि जनता? उनीहरू त अँध्यारोमा टुकी बाल्दै फेसबुकमा पोस्ट गरिरहेछन् — “हाम्रो नगरपालिकामा डिजिटल बत्ती लाग्यो रे!”
निर्माण व्यवसायीले चाहिँ आफैँ पोलमा झुन्डिएर बत्ती बनेको नाटक गर्नुपर्ने अवस्था आउन लागेको छ। उहाँको भनाइ छ, “मैले स्ट्रीट लाइट होइन, स्ट्रीट ‘राइट’ दिएको हुँ – भ्रष्टाचारको मार्गमा उज्यालो दिने।”
विशेष अदालतमा मुद्दा दायर भइसकेको छ। तर जनताको मनमा एउटा प्रश्न झल्किरहेको छ — “यो बत्ती कहिले बल्छ त?” अख्तियारको बत्ती त बल्यो, तर नगरपालिकाको त अझै पनि डिमर मोडमै छ।
नेपालमा बत्तीको उज्यालोभन्दा पनि भ्रष्टाचारको उज्यालो छिटो देखिन्छ। स्ट्रीट लाइटको नाममा, स्ट्रीट फाइट सुरु भएको छ — अख्तियारले उज्यालो बाल्न थालेपछि कति जनाले आँखा चिम्लने हो, हेर्न बाँकी नै छ।







