काठमाडौं । अमेरिका–इरानबीचको द्वन्द्वका कारण मध्यपूर्व क्षेत्रमा समेत ठूलो असर परिरहेको छ । इरानले मध्यपूर्वमा आक्रमण गरिरहेका बेला नेपाललाई समेत असर पारिरहेको छ ।
१८ लाख भन्दा बढी नेपाली नागरिकहरु रहेको मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित भइरहेको छ ।
तर, कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजले कतारको राजधानी दोहाबाट काठमाडौंसम्मको उडान सञ्चालन गर्ने जनाएको छ ।
कतार एयरवेजले विभिन्न देशका लागि सार्वजनिक गरेको तालिकाअनुसार १६ र १७ मार्च अर्थात् चैत २ र ३ गते दोहा–काठमाडौं उडान हुने छ ।
त्यसैगरी १७ र १८ मार्च अर्थात् चैत ३ र ४ गते काठमाडौं–दोहा उडान तालिका तय भएको छ ।
नेपालबाट कतार जान चाहने वा दोहा ट्रान्जिट हुँदै अन्य गन्तव्यमा जाने यात्रुहरूले यो उडानको सुविधा लिन सक्नेछन् ।
कतार एयरवेजले काठमाडौंसँगै नयाँदिल्ली, मुम्बई, ढाका, बैंकक, इस्तानबुल, लन्डन, पेरिस लगायतका एसियाली तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूमा पनि विशेष उडान गर्दैछ ।
हाल मध्यपूर्व क्षेत्रमा तनाव बढेसँगै केही देशहरूले हवाई मार्गमा सतर्कता अपनाइरहेका छन् र कतिपय उडानहरू रद्द वा मार्ग परिवर्तन गरिएको अवस्था छ । क्षेत्रीय तनावका कारण उडान व्यवस्थापनमा चुनौती बढिरहेका बेला दोहा–काठमाडौं हवाई सम्पर्क कायम रहने संकेतलाई सकारात्मक मानिएको छ ।
दोहा विश्वका प्रमुख ट्रान्जिट हबमध्ये एक भएकाले नेपाल आउने तथा बाहिरिने यात्रुका लागि यस उडानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
विशेषगरी मध्यपूर्वमा कार्यरत नेपाली कामदारहरू, नेपाल फर्कने यात्रु तथा विदेश जाने विद्यार्थीका लागि दोहा–काठमाडौं उडान अत्यन्त महत्वपूर्ण मानिन्छ ।
एयरलाइन्सले भने यात्रुहरूलाई आफ्नो उडानबारे पछिल्लो जानकारीका लागि आधिकारिक वेबसाइट, मोबाइल एप वा ट्राभल एजेन्सीमार्फत नियमित रूपमा अद्यावधिक जानकारी लिन आग्रह गरेको छ ।







