काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रिय कार्य सम्पादन समितिको बैठक बसेको छ ।
बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी छ ।
बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिस गर्दै छ ।
प्रत्यक्षतर्फ एक सांसद जितेको राप्रपाले समानुपातिकमा ३ लाख ३० हजार ६ सय ८४ मत पाएको छ । जसअनुसार राप्रपाको भागमा चार सांसद परेका छन्।
प्रत्यक्षतर्फको एक र समानुपातिकतर्फको चार गरेर जम्मा सांसदको संख्या पाँच पुग्छ ।
यस्तै राप्रपाले निर्वाचनमा पार्टीको पराजयबारे समीक्षा गरिने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिए।
यसअघि नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको टुंगो लगाइसकेको छ भने श्रम संस्कृति पार्टीले पनि समानुपातिकतर्फका ४ जना सांसदको नाम टुङ्ग्याएको छ।
यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले पनि आजै समानुपातिकतर्फका सांसदको टुंगो लगाउँदै छन् ।







