काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको फैसलापछि संकटमा परेको इतर पक्षले बैठक बोलाएको छ।
कांग्रेसमा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार दिउँसो बस्नेगरि इतर समूहका नेताहरूको बैठक बोलाएका हुन्।
भेला आज अपरान्ह ४ बजेका लागि पूर्व उसभापति खड्काकै निवासमा हुने नेता प्रकाशशरण महतले जानकारी दिए।
उनले भने- ‘पूर्णबहादुर खड्काले बैठक बोलाउनुभएको छ। अदालतको फैसलापछि कसरी जाने भन्ने विषयमा छलफल हुन्छ।’
गत पुसमा भएको कांग्रेस विशेष महाधिवेशन र त्यसपछि निर्वाचन आयोगले दिएको आधिरकारिकतालाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च गुहार्न पुगेको थियो।
तर शुक्रबार सर्वोच्चले उक्त रिट नै खारेज गर्दै विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरेको छ।
बिहीबार र शुक्रबारको सुनुवाइपछि न्यायाधिश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले यस्तो विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको कांग्रेसलाई आधिकारीकता प्रधान गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको हो ।
आदेश दिएसँगै कांग्रेसको असन्तुष्ट पक्ष अब कसरी अघि बढ्ने अन्योलमा छ।







