काठमाडौँ । विद्यालय गेटमा हेडमास्टरबाट स्वागत नपाएको अभिव्यक्तिलाई लिएर रास्वपा सांसद विश्वराज पोखरेल विवादमा तानिएका छन् ।
सार्वजनिक भिडियोमा पोखरेलले हेडमास्टर विद्यालय गेटसम्म स्वागत गर्न नआएको विषयमा असन्तुष्टि व्यक्त गरेको देखिन्छ ।
सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पूर्वशिक्षामन्त्री तथा सांसद महावीर पुनले कडा प्रतिक्रिया जनाएका छन् । उनले सांसदको व्यवहारप्रति आपत्ति जनाउँदै जनप्रतिनिधिको जिम्मेवारी र आचरणबारे प्रश्न उठाए ।
पुनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘यिनी कुन पार्टीका हुन् कुन्नि ? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ।’ उनले सांसदलाई “जनताको नोकर” भन्दै जनताका काममा समर्पित हुनुपर्ने बताए ।
उनको भनाइमा, जनप्रतिनिधिले व्यक्तिगत अपेक्षा वा औपचारिक सम्मानका विषयमा भन्दा जनताको सेवा र काममा ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।
‘एउटा सांसदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नु पर्छ। पाँच वर्षसम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनु पर्छ,’ पुनले लेखेका छन्।
उनले थप भनेका छन्, ‘बाटोमा स्वागत गरेनन् भनेर दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ देखाउनु हुन्छ ? कि तुरुन्त माफी माग्नु पर्छ कि त सारा जनताले फिर्ता बोलाउनु पर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको