काठमाडौं । काठमाडौँ उपत्यकामा जारी सुकुम्बासी बस्ती व्यवस्थापन अभियानका क्रममा सरकारले प्रभावित परिवारका लागि तत्काल राहत र अस्थायी व्यवस्थापनको व्यवस्था गर्ने जनाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार बस्ती हटाउने कार्यसँगै स्थलमै (साइटमै) तत्काल राहत र खानाको व्यवस्था मिलाइएको छ ।
विज्ञप्तिमा उल्लेख भएअनुसार कार्यक्षेत्रमा खटिएको टोलीले बिहानैदेखि बस्ती हटाउने कार्यसँगै प्रभावित परिवारका लागि प्याकेट खाना तथा आवश्यक प्राथमिक राहत उपलब्ध गराएको छ। शनिबार र आइतबारका लागि सरकारले नै खाद्य व्यवस्थापनको जिम्मा लिएको जनाइएको छ।
सचिवालयले पुनःस्थापनाका लागि चयन गरिएका स्थानहरूमा आधारभूत पूर्वाधार तयारी सम्पन्न भइसकेको दाबी गरेको छ।
ती स्थानहरूमा पानी, बिजुली र शौचालय जस्ता न्यूनतम सुविधाहरू सुनिश्चित गर्न सरसफाइ तथा तयारी कार्य पूरा भएको उल्लेख छ।
सरकारका अनुसार अस्थायी रूपमा प्रयोगमा ल्याइएका संरचनाहरू यसअघि नै निर्माण गरिएका थिए, जसलाई अब वास्तविक सुकुम्बासी व्यवस्थापनका लागि उपयोगमा ल्याइँदैछ।







