काठमाडौं । देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको सात तले घर पनि भत्काइँदै छ ।
अतिक्रमण गरी बनाएको भन्दै सरकारले उक्त घर भत्काउन लागिएको हो।
उक्त घरमा, रेष्टुरेन्ट, बार, स्पालगायतका विभन्न व्यवसाय सञ्चालनमा छन् ।
यद्यपी घरधनी इन्द्र चाम्लिङले जग्गाको पूर्जा रहेको र नक्सापास भएर घर बनाएको बताएका छन् । उनले जग्गाको लालपूर्जा, नक्सापास लगायतका कागजात घरबाहिरै टाँसेका थिए । उच्च अदालतले यो सरकारी जग्गा नभएको भनेर आदेश गरेको उनको भनाइ छ ।
तर, अहिले घरमा डोजर चल्न थालिसकेको छ । घर भत्काउनका लागि दुईवटा डोजर परिचालन गरिएका छन् ।
अहिले उक्त क्षेत्रमा सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरी ठूलो मात्रामा परिचान गरिएका छन् ।
अनामनगर क्षेत्रमा आजपनि सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान जारी छ ।
सरकारले शनिबार पनि उक्त क्षेत्रमा डोजर प्रयोग गरी अवैध संरचना भत्काएको थियो ।
शुक्रबार टेकु, शंखमुख, बल्खु, बंशीघाट लगायत विभिन्न सुकुमबासी बस्तीमा डोजर चलाइएको थियो ।
यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरी गाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो।
महानगर प्रहरीका अनुसार हालसम्म काठमाडौं उपत्यकाभर सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरेर बनाइएका करिब दुई हजारभन्दा बढी घरटहरा हटाइसकिएको छ ।







