जनकपुुरधाम । मधेश प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकारबाट सीके राउत नेतृत्वको जनमत पार्टी बाहिरिएको छ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राउतले पदभन्दा जनताको सेवा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै पार्टीले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको जनाएका हुन् ।
उनले मधेस सरकारको कार्यशैलीप्रति आमजनता तथा पार्टी कार्यकर्तामाझ चरम असन्तुष्टि बढेको बताएका छन् ।
विकास आयोजना कार्यान्वयनमा पारदर्शिता कायम गर्नुपर्ने माग बेवास्ता भएको तथा उपभोक्ता समितिमार्फत हुने काममा विवाद बढ्दै गएकोप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्।
उनले सार्वजनिक खरिद प्रक्रियालाई प्रतिस्पर्धात्मक र पारदर्शी बनाउनुपर्ने प्रस्तावप्रति पर्याप्त ध्यान नदिइएको उल्लेख गर्दै प्रदेश सरकारको कार्यसम्पादनले नकारात्मक सन्देश गएको दाबी गरेका छन्।
उनका अनुसार मधेस सरकारबाट जनताको हितमा उल्लेखनीय काम हुन नसकेको र विगत पाँच महिनादेखि पटक–पटक सुझाव दिँदा पनि सुधारको पहल नभएको दाबी गरिएको छ ।
साथै, जिल्लास्तरमा सर्वसाधारण र कार्यकर्ताबीच असन्तोष बढ्दै गएको मूल्यांकन पनि पार्टीको रहेको जनाइएको छ।
यसअघि आजै मधेस प्रदेशसभामा जनमत पार्टीको संसदीय दलको नेतृत्व परिवर्तन गरिएको छ। चन्दनकुमार सिंह लाई नयाँ नेता तोकिएको छ भने यसअघिका नेता महेशप्रसाद यादव लाई पदबाट हटाइएको छ ।
नवनियुक्ति नेता सिंह प्रदेश प्रमुखकहाँ पुगेर सरकरामाथि समर्थन फिर्ताको पत्र बुझाएका छन् ।
यससँगै पार्टीले आफ्ना मन्त्रीहरूलाई पदत्याग गर्न निर्देशनसमेत दिएको छ। पार्टी नेतृत्वले सरकारबाट बाहिरिने कदमलाई संगठन र जनहितसँग जोडेर व्याख्या गरेको छ।







