काठमाडौं । काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस मिथिला नगरपालिकामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
नेपाल प्रहरी का अनुसार बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस आइतबार बिहान धनुषाको मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउन्ड नजिक पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भएर पल्टिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार अर्को बसलाई ओभरटेक गर्ने क्रममा चालकले नियन्त्रण गुमाउँदा बस सडकमै पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनापछि स्थानीयवासी र प्रहरीले तत्काल उद्धार कार्य सञ्चालन गरेका थिए।
दुर्घटनामा घाइते भएका १७ जनालाई उपचारका लागि लालगढस्थित मोइल अस्पतालमा भर्ना गरिएको छ। केही यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बसमा कुल ३३ जना यात्रु सवार थिए। अन्य यात्रु भने सकुशल रहेको बताइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







