एजेन्सी। भारतको तमिलनाडु राज्यमा (टीभीके) का अध्यक्ष सी.जोसेफ विजय थलापतिले आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएका छन्।
चेन्नईमा आयोजित भव्य समारोहकाबीच उनलाई तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथ लिएलगत्तै थलपतिले मञ्चमै तीनवटा निर्णय गरेका छन्।
जसमा हरेक घरलाई २०० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने, लागुऔषध समस्या नियन्त्रणका लागि प्रत्येक जिल्लामा विशेष बल गठन गर्ने तथा महिला सुरक्षाका लागि विशेष टास्क फोर्स स्थापना गर्ने आदि निर्णय रहेका छन् ।
सरकार गठनका लागि आवश्यक बहुमतभन्दा बढी अर्थात् १२० जना विधायकको समर्थन प्राप्त भएपछि टीभीके नेता एवम सुपरस्टार थलापति राज्यपाल राजेन्द्र अर्लेकरलाई भेट्न लोक भवन पुगेका थिए ।
राज्यपालसँगको भेटमा बहुमतको आधारमा सरकार गठनको दाबी प्रस्तुत गर्दै विजयले भीसीके र आईयूएमएल पार्टीको समर्थनपत्र बुझाएका थिए ।
यसअघि शनिबार साँझ तमिलनाडुमा कांग्रेस, सीपीआई र सीपीएमपछि भीसीके तथा इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) ले पनि टीभीकेलाई समर्थन गर्ने घोषणा गरेका थिए ।
शपथ समारोहमा विजयसँगै टिभीकेका वरिष्ठ नेतासहित अन्य नौ जनाले मन्त्री पदको शपथ लिएका छन्।
मन्त्री पदको शपथ लिनेमा बुसी एन आनन्द, आधव अर्जुन, केजी अरुणराज, केए सेंगोट्टैयन, पी वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए राजमोहन, टी के प्रभु र एस कीर्तना रहेका छन्।
विजयले मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रममा कंग्रेस नेता राहुल गान्धी पनि सहभागी थिए।
विजयको शपथसँगै तमिलनाडुमा करिब ६ दशकदेखि पालैपालो सत्ता सञ्चालन गर्दै आएका द्रविड़ मुनेत्र कळगम (डीएमके) र अन्ना द्रविड़ मुनेत्र कजगम (एआईएडीएमके) को राजनीतिक वर्चस्व अन्त्य भएको छ।
विजय राजनीतिमा नयाँ अनुहार भएपनि दक्षिण भारतीय फिल्मका एक परिचित अभिनेता समेत हुन्।







