राजविराज । सप्तरीको बोदे बरसाईन नगरपालिकामा सार्वजनिक जग्गा कब्जा गरी घर निर्माण गरेर भाडामा लगाइएको विषय सार्वजनिक भएको छ । नगरपालिकाका मेयर आतेश कुमार सिंह यादव र उनका काका पूर्व मन्त्री मृगेन्द्र कुमार सिंह यादवले वडा नम्बर–५ बजार क्षेत्रको सार्वजनिक जग्गामा संरचना निर्माण गरी व्यापारीहरूलाई भाडामा दिएको आरोप लागेको हो ।
स्थानीयवासीका अनुसार बजार क्षेत्रको सार्वजनिक उपयोगका लागि रहेको जग्गामा पक्की घर निर्माण गरेर विभिन्न व्यवसाय सञ्चालनका लागि भाडामा दिइँदै आएको छ । सत्ता र पहुँचको आडमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गरिएको भन्दै स्थानीयस्तरमा विरोधसमेत बढ्न थालेको छ ।
यद्यपि वडा अध्यक्ष मो . मजेवुल रहमानले उक्त जग्गा सार्वजनिक भए पनि लामो समयदेखि यादव परिवारकै भोगचलनमा रहेको बताए । उनले विगतदेखि प्रयोग हुँदै आएको विषय भएकाले अहिले विवाद सिर्जना भएको प्रतिक्रिया दिए ।
यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र नाथ शर्माले सार्वजनिक जग्गासम्बन्धी विषयमा कानुनअनुसार प्रक्रिया अगाडि बढाइएको बताए । उनले आवश्यक छानबिन तथा नापजाँच गरी कानुनी प्रक्रिया अनुसार निर्णय गरिने जानकारी दिए । यस विषयमा मेयर यादव संग प्रतित्रिया लिन खोज्दा उनि सम्पर्कमा आउन चाहेन ।
सार्वजनिक जग्गा अतिक्रमणको विषय बाहिरिएपछि स्थानीयवासीले निष्पक्ष छानबिन गरी सार्वजनिक सम्पत्ति संरक्षण गर्न माग गरेका छन् ।







