राजविराज । सप्तरी जिल्लामा सञ्चालित विभिन्न विकास निर्माण कार्यमा पर्यटन विकास कार्यालय, लहानले उपभोक्ता समिति तथा ठेकेदार कम्पनीहरूसँग मिलेमतो गरी गुणस्तरहीन काम गराइरहेको गम्भीर आरोप लागेको छ।
जिल्लाभर विकासका नाममा भइरहेका काममा गुणस्तर नपुगे पनि कार्यालयका प्रमुख तथा साइट इन्जिनियरहरूले त्यस्ता कार्यलाई समर्थन गरिरहेको पाइएको स्थानीयको भनाइ छ। स्रोतका अनुसार पर्यटन विकास कार्यालय, लहान अन्तर्गत भइरहेका अधिकांश योजनामा मापदण्डविपरीत काम भए पनि अनुगमन प्रभावकारी हुन सकेको छैन।
अझ गम्भीर कुरा, मधेश प्रदेश उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका मन्त्रीलाई २० लाख रुपैयाँ बुझाएर पर्यटन विकास कार्यालय, लहानका निमित्त प्रमुख बनेका नबोनारायण मिश्र हाल सरुवा गराउन खर्च भएको रकम उठाउने उद्देश्यले योजनाहरूबाट अवैध असुलीमा संलग्न रहेको आरोप छ।
महदेवा गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिकामा निर्माणाधीन बहुउद्देश्यीय ग्रामीण उद्योगहरूमा कार्यालयकै मिलेमतोमा ठेकेदार कम्पनीहरूले गुणस्तरहीन काम गरिरहेको पाइएको छ। यस्तै, बोदे बरसाईन नगरपालिकामा निर्माणाधीन धर्मशालाको काममा पनि मापदण्डअनुसार निर्माण नभएको जनाइएको छ।
स्रोतका अनुसार डक्नेश्वरी नगरपालिका र राजविराज नगरपालिका भित्र उपभोक्ता समिति तथा कोटेशनमार्फत भइरहेका विकास निर्माण कार्यको अनुमति पत्रका लागि पहिल्यै १० प्रतिशत कमिशन असुली भइसकेको छ। ठेकेदार कम्पनीहरूसँग भने ७ देखि ११ प्रतिशतसम्म कमिशनमा कुरा मिलेको दाबी स्रोतले गरेको छ।
यस विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण नहुँदा सरकारी रकम दुरुपयोग हुनुका साथै विकास निर्माण कार्यको गुणस्तर गम्भीर रूपमा प्रभावित भएको स्थानीयवासीहरूको गुनासो छ।
उनीहरूले सम्बन्धित मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट तत्काल छानबिनको माग गरेका छन्। यस विषयमा पर्यटन विकास कार्यालय, लहानका निमित्त कार्यालय प्रमुख नबोनारायण मिश्र संग प्रतित्रिया लिन खोज्दा उनि सम्पर्कमा आउन चाहेन । कार्यालयको 9852889421 नम्वरमा माईसंचारको टिमले पटक पटक फोन गर्दा पनि उनि सम्पर्कमा आउन चाहेन ।







