एजेन्सी। बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गरेका छन् ।
नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियताबीच उनले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताए ।
‘मैले लिएका हरेक निर्णय मैले माया गरेको देशलाई पहिलो स्थानमा राख्ने उद्देश्यका साथ गरिएको हो । त्यसैले म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु,’ भावुक हुँदै उनले भने ।
स्टार्मरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा सुरु हुनेछ । नयाँ नेता छनोट नभएसम्म उनी प्रधानमन्त्रीको जिम्मेवारीमा रहनेछन् । नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ ।
सन् २०२४ मा लेबर पार्टीलाई आमनिर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बनेका स्टार्मरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो ।
उनको कार्यकालमा विभिन्न विवाद, नीतिगत निर्णयमा पटक–पटक परिवर्तन तथा सुधारका वाचा पूरा गर्न नसक्दा उनको छविमा असर परेको बताइएको छ ।
उनको बहिर्गमनसँगै लेबर पार्टीमा नयाँ नेतृत्वको चर्चा सुरु भएको छ । आगामी जुलाई ९ बाट नेतृत्व चयन प्रक्रिया सुरु हुने र सेप्टेम्बरमा संसद् पुनः सुरु हुनुअघि नै नयाँ नेता चयन गरिसक्ने गरी कार्यतालिका तय गरिएको छ ।
नयाँ नेतृत्वको चयन नभएसम्म कीर स्टार्मर नै प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नेछन् ।
बेलायतमा प्रधानमन्त्री बारम्बार परिवर्तन हुनुको मुख्य कारण त्यहाँको संसदीय प्रणाली हो । बेलायती नागरिकले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा निर्वाचित गर्दैनन् । प्रधानमन्त्री आफ्नो पार्टीका सांसदहरूको समर्थनका आधारमा पदमा रहने व्यवस्था छ ।
कन्जरभेटिभ पार्टीमा १५ प्रतिशत सांसदले विरोध जनाए अविश्वास प्रस्ताव ल्याउन सकिन्छ भने लेबर पार्टीमा २० प्रतिशतभन्दा बढी सांसद र सदस्यको समर्थन पाए अर्को नेताले नेतृत्वका लागि दाबेदारी प्रस्तुत गर्न सक्ने वयवस्था गरिएको छ ।







