राजविराज– “दुई महिना भन्दा बढी भई सक्यो तर दुई पांग्रे सवारी साधन पनि गाउँमा पुग्ने अवस्था छैन् चार पांग्रेको त कुरै नगरौं” यसरी आफ्नो दुखेसो सुनाउँछन् सप्तरी जिल्लाको एक गाउँका वासिन्दाहरु ।
सप्तरी सद्रमुकाम राजविराजबाट करिब २२ किलोमिटर पश्चिममा अवस्थ्ति उक्त गाउँमा दुई महिना यता कुनै सवारी साधन पुग्न सकेको छैन् । गाउँमा रहेका मोटरसाईकल पनि गाउँमै थन्काईएको भने गर्भवती महिला पनि गाउँमै सुत्केरी गराउन बाध्य छिन् ।
यो समस्या हो जिल्लाको देउरी गाविसको । त्यहाँका ६ वटा वडा अर्थात सिम्राहा र स्वर्णपट्टी टोलका बासिन्दाहरु बाटो अबरुद्ध भएर आवागमनमा कठिनाइ भएपछि अनेक किसिमको समस्याहरु झेल्दै आएका छन् ।
हुलाकी सडक निर्माणको क्रममा सिम्राहा टोल भन्दा पश्चिम उत्तर निर्माण गरिएको पुल स्थित सडकको माटो बाढीले बगाई बगरमा परिणत हुँदा हाल उक्त टोल पुग्न साइकल समेत काँधमा बोकी जानु पर्ने अवस्था सृजना भएको स्थानीय विरेन्द्र प्रसाद साहले बताए ।
टोलमा पुग्ने दुई वटा मात्र बाटो रहेकोमा निरन्तरको वर्षा तथा बाढीले बाटो बिग्रिएपछि टोलमा रहेका तीन दर्जन बढी मेटर साइकलहरु महिनौ देखि टोलमै थन्काएर राख्नु परेको संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य समेत रहेका स्थानीय तपसी यादवले दुखेसो पोखे ।
बाटोको असुविधाका कारण अहिले उक्त गाविसमा पुग्ने एक मात्र बैकल्पीक उपाय पैदल यात्रा रहेको छ ।
स्थानीय स्वर्णा नदी र पाजा नदीको पानीले उक्त टोल चौतर्फी डुबानमा पर्ने गरेको साहको भनाई छ ।
यसरी, सवारी साधनको आवागमन अवरुद्ध हुन जाँदा गर्भवती महिलाहरुलाई सुरक्षित प्रसुती गराउँन सदरमुकाम सम्म लैजान समेत नसकी टोलमै प्रसुती गाराउन बाध्य हुने गरेको स्थानीय कामेश्वर यादवले बताए ।
लामो समय देखि टोलको चौतर्फी बाटो बन्द हुन जाँदापनि हाल सम्म कुनै निकायले ध्यान नदिएकोमा साहले आक्रोश व्यक्त गरे । “बाटोको असुविधाका कारण हामी घेराबन्दीमा छौं तर कुनै निकाय वा सांसदले हाम्रो समस्या बुझ्न आएको छैन्” साहले भने । सो सम्बन्धमा गाविस कार्यालयले जिल्ला विकास समिति सप्तरीलाई लिखित जानकारी गराएको देउरी गाविसका गाविस सचिव जय कुमार साहले जानकारी दिए ।
जिल्ला विकास समितिको कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख धिरेन्द्र यादवले सो सम्बन्धमा आफुलाई हाल सम्म कुनै जानकारी नरहेको बताए ।
यद्यपी, निमित कार्यालय प्रमुख यादवले भने “यसरी आवागमन नै बन्द हुने अवस्था रहेको हुँदा तत्कालै गाविस कार्यालयसँग समन्वय गरी चाँडो भन्दा चाँडो बाटो संचालन गर्न आवश्यक कदम चालिनेछ ।”







