
विराटनगर । लगातारको अविरल वर्षाले मोरङ जिल्लाका नदी–खोलामा बहाव तीव्र बनेपछि सयौं बस्तीहरू बाढीको चपेटामा परेका छन्। शनिबारदेखि निरन्तर परेको वर्षाका कारण केसलिया, सिंघिया, बक्राहा, लोहान्द्रा र रतुवा खोलाहरू उफ्रिँदा बिराटनगरदेखि उर्लाबारी र धनपालथानसम्मका दर्जनौं बस्ती डुबानमा परेका छन्। स्थानीय प्रशासनका अनुसार अहिलेसम्म जनहानी नभए पनि करिब ७५० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
बिराटनगर–१२ मा केशलिया खोलाको बाँध नाघेपछि पानी बस्तीमा पस्दा प्रहरी चौकी बखरीबाट टोली खटाई ३५० जनालाई बखरी आमा विद्यालय, दरैया आमा विद्यालय र नवनिर्माणाधीन फ्याक्ट्री भवनमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी बिराटनगर–२ पूर्वटोलमा सिंघिया खोलाको पानी पस्दा ३५ घर र बिराटनगर–५ केशलिया ढाटस्थित शंकरबारी टोलमा २५ घर प्रभावित भएका छन्।
सुनबर्षी नगरपालिका–६ कैनीमा बक्राहा खोलाको बाँध नाघेपछि प्रहरी र स्थानीयहरूले माटो थप्दै बाँध मजबुत बनाउने प्रयास गरिरहेका छन्। सोही खोलाको पानीले सुनबर्षी–३ बाहुनटोलमा करिब ६० घरमा पानी पसेको छ। धनपालथान गाउँपालिका–६ मा लोहान्द्रा खोलाले बाँध नाघ्दा १५० घर डुबानमा परेका छन् भने कर्सिया प्रहरी चौकीका टोलीहरूले स्थानीयलाई सुरक्षित स्थानमा सारिरहेका छन्।
उर्लाबारी–९ बोर्डरलाइनमा रतुवा खोलाको बाँध फुटेपछि करिब २० घर वरिपरि पानी पसेको र जोखिममा रहेका पाँच घरका २० जनालाई नजिकैको सुरक्षित स्थानमा सारिएको छ। त्यस्तै, मिक्लाजुङ–६ मलामीटहरास्थित नुनसरी खोलाको बाँध कटान हुन थालेपछि प्रहरी र स्थानीय निकायले संयुक्त रूपमा मर्मत कार्य तीव्र पारेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता इन्स्पेक्टरले जनाए अनुसार, “सुरक्षा निकाय, स्थानीय तह र जनप्रतिनिधि उच्च सतर्कतामा छन्। खोलाको बहाव अझ बढेमा थप स्थानान्तरणको तयारी भइसकेको छ।”
बाढीग्रस्त क्षेत्र निरीक्षण गर्न कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की आइतबार बिराटनगर–१२ पुगेका थिए। उनले केशलिया खोलाको बाँध नाघी पानी पसेका बस्तीहरूमा प्रत्यक्ष अवलोकन गर्दै राहत कार्यको समन्वय गरेका थिए। कार्कीले प्रभावित बासिन्दासँग भेटघाट गर्दै भने, “मैले नेतृत्व गर्दा केशलिया कोरिडोर परियोजना परिकल्पना गरेको थिएँ, जसले बाढी नियन्त्रणसँगै नागरिकको दीगो जीवनयापनमा सहयोग पुर्याउने थियो।”
पूर्वमुख्यमन्त्री कार्कीले प्रदेश र स्थानीय सरकारलाई तत्काल राहत तथा पुनःस्थापनाको कार्य प्रभावकारी बनाउन आग्रह गर्दै बाढीपीडितहरूलाई नआत्तिन र सतर्क रहन अपिल गरेका छन्। स्थानीय प्रशासनका अनुसार वर्षा अझै पूर्ण रूपमा कम नभएकाले बाँकी बस्तीहरूमा समेत सतर्कता उच्चस्तरमा राखिएको छ।