काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्ने भएको छ।
शाहलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको रास्वपाले झन्डै दुई तिहाइ मत ल्याएको छ।
रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता छनोटको प्रावधान छ।
विधानको धारा ६६ (८) को (क) मा संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट संघीय निर्वाचनको लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधि सभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुने व्यवस्था उल्लेख छ।
त्यस्तै उपधारामा (ख) दल नेता चयनका लागि हुने निर्वाचनमा निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने प्रावधान राखिएको छ। रास्वपाले यसैलाई संशोधन गर्न लागेको हो।
रास्वपाको मौजुदा विधानमा कुल खसेको सदर मतको (५० प्रतिशतं) को संख्यामा मत ल्याउने उम्मेदवार पार्टीको तर्फबाट संसदीय दलको नेता हुने र कुनै पनि उम्मेदवारले कुल सदर मतको (५० प्रतिशतं) को संख्या प्राप्त गर्न नसकेमा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुनेछ र विजयी उम्मेदवार पार्टीको तर्फबाट संसदीय दलको नेता हुने व्यवस्था छ।
राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक उम्मेदवार छान्ने गृहकार्यमा जुटेको छ। पार्टी सभापति रवि लामिछाने केही दिनदेखि अस्वस्थ भएर घरमै स्वास्थ्य लाभ गरिरहेकाले बैठक बस्न ढिलाइ भइरहेको बताइएको छ ।
गत फागनु २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइका लागि दुई सिट अपुग हुने गरी १८२ सिट जितेको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट ल्याएको थियो।







