राजविराज । मधेशमा प्रत्येक वर्ष वैशाख २ गते मनाइँदै आएको जुड़शीतल पर्व हर्षोल्लासका साथ मनाइँदै छ ।
जुड़शीतल सिरुवा पर्व नामले पनि प्रचलित रहेको यो पर्वमा
बुधबार बिहानैदेखि घरका सबैभन्दा जेठा व्यक्तिले आफ्ना परिवारजन तथा टोल–छिमेकका कनिष्ठ व्यक्तिको टाउकोमा हत्केलाले जल छर्केर आशीर्वाद दिँदै पर्व मनाइरहेका छन् ।
यसरी ठूलाबडाले टाउकोमा जल दिएर ‘जुडाए’पछि खुट्टा ढोगेर आशीर्वाद लिने चलन रहेको छ ।
प्रकृति तथा वातावरण संरक्षणसँग सन्दर्भ जोडिएको यस पर्वमा पशुपक्षी, वृक्ष, बोटबिरुवा र घरगृहस्थीमा प्रयोग गरिने सन्दुक, आलमारी, बाकस, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी, ओखल, मुसल, सिलौटा, लोढा, बाटोघाटो तथा दैनिक जीवनमा प्रयोग हुने सबै वस्तुमा पानी छर्केर शीतल बनाउने पौराणिक चलन रहिआएको छ ।







