काठमाडौँ । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमणमा आउने भएका छन्।
बालेन शाह नेतृत्वको सरकार गठनपछि उनको यो भ्रमणलाई वासिङ्टनको काठमाडौँप्रति बढ्दो रणनीतिक चासोका रूपमा हेरिएको छ।
अमेरिकी प्रशासनका उच्च अधिकारीहरू प्रायः दक्षिण एशियाली क्षेत्रीय भ्रमणकै क्रममा मात्र नेपाल आउने प्रचलनबीच कपुर भने सिधै नेपालका लागि मात्रै अमेरिका बाहिर निस्कन लागेका हुन्।
उनी इस्तानबुल ट्रान्जिट हुँदै काठमाडौँ अवतरण गर्ने तयारीमा छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोमबार आगमन र बुधबार फिर्ताको प्रारम्भिक तालिका बनाइएको छ।
भ्रमणका क्रममा कपुरले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग बालेन सरकारको आर्थिक प्राथमिकता, लगानी वातावरण र विकास साझेदारीबारे विस्तृत छलफल गर्ने कार्यक्रम छ।
विशेषगरी एमसीसी अन्तर्गतको नेपाल कम्प्याक्टको प्रभावकारी र तीव्र कार्यान्वयनमा अमेरिकी चासो केन्द्रित रहने बताइएको छ।
कपुरको भेटघाट तालिका, छलफलका विषय र अन्य उच्चस्तरीय भेटहरूबारे विस्तृत कार्यसूची तयार पार्ने काम जारी रहेको मन्त्रालयले जनाएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ अक्टोबरमा दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुलाई पदबाट हटाउँदै कपुरलाई नियुक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको