काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य लेखेकै आधारमा सञ्चारकर्मी डराउनु नपर्ने वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवस को अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले स्वतन्त्र र निर्भय प्रेसलाई लोकतन्त्रको प्रमुख आधारस्तम्भको रूपमा व्याख्या गरे ।
उनका अनुसार बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी गर्ने कार्य अझ चुनौतीपूर्ण बन्दै गएको छ। ‘लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो,’ उनले भने, ‘तर असुरक्षा र दबाबबीच पनि सत्यको पक्षमा उभिने सञ्चारकर्मीप्रति सम्मान व्यक्त गर्दछु।’
थापाले प्रेस स्वतन्त्रतालाई कुनै व्यक्ति वा संस्थाविरुद्धको आक्रमणका रूपमा नभई नागरिकको सुसूचित हुने अधिकारको संरक्षणका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन्।
उनले सत्य र जिम्मेवार पत्रकारितालाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्न राज्य, समाज र सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।







