काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको कार्यशैलीप्रति सशंकित बनेका उद्योगी–व्यवसायीसँग प्रत्यक्ष संवाद गर्दै सरकारको कामको बचाउ गरेका छन् ।
आइतबार ललितपुरस्थित हिमालय होटलमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरूसँग लामिछानेले छलफल गरेका हुन् । उनले छलफलका क्रममा नीतिगत सुधारमार्फत सहजीकरण गर्ने आश्वासन दिए ।
सरकारले व्यवसायीमाथि कडाइ बढाएको भन्दै बढ्दो असन्तुष्टिका बीच आयोजित उक्त संवादमा लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कदमको बचाउ गरे। साथै, पार्टीको चुनावी वाचापत्र स्मरण गराउँदै नीतिगत सुधारमार्फत व्यवसायीमैत्री वातावरण बनाउने प्रतिबद्धता दोहोर्याए।
छलफलमा सहभागी व्यवसायीहरूले पछिल्ला सरकारी गतिविधिले आफूहरू त्रसित भएको र मनोबल खस्किएको बताएका थिए।
विशेषगरी शेखर गोल्छाको पक्राउ तथा आयातित सामानमा भन्सार विन्दुमै अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर अनिवार्य गर्ने नियम कडाइका साथ लागू गरिएपछि निजी क्षेत्र सरकारप्रति सशंकित बनेको उनीहरूको भनाइ थियो।
व्यवसायीहरूको गुनासो सुनेपछि लामिछानेले सरकारको नियमनलाई ‘व्यवस्था सुधारका लागि आवश्यक कदम’ भन्दै बचाउ गरे। उनले स्पष्ट नीति, पारदर्शिता र सहजीकरणमार्फत निजी क्षेत्रको मनोबल उकास्ने प्रतिबद्धता व्यक्त गरे ।







