काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रमा दशकौँदेखि जरा गाडेको दलगत राजनीति अन्त्य गर्ने दाबी गरेका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले विद्यार्थी र कर्मचारी संगठनहरूलाई दलगत प्रभावबाट मुक्त गर्दै प्रणालीगत सुधारतर्फ सरकार अघि बढेको स्पष्ट पारे ।
प्रधानमन्त्री शाहका अनुसार वर्षौंदेखि विद्यार्थी र कर्मचारी संगठनहरू दलका “स्लिपर सेल” जस्तै प्रयोग हुँदै आएको र यसले योग्यता, क्षमता र पेशागत मर्यादालाई कमजोर बनाएको छ।
‘अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता हुनेछ,’ उनले भने।
उनले शिक्षालयमा दलको झण्डा निषेध र कर्मचारीतन्त्रमा दलगत झोला निषेध गर्ने नीति लागू गरिने उल्लेख गर्दै यो अधिकार खोस्ने होइन, पेशागत स्वतन्त्रता बलियो बनाउने कदम भएको बताए।
प्रधानमन्त्री शाहले विद्यार्थीले राजनीति सिक्ने तर “सभ्यता, विचार र जिम्मेवारीको राजनीति” सिक्नुपर्नेमा जोड दिएका छन्। त्यस्तै, कर्मचारीहरूले कुनै दलको होइन, जनताको सेवा गर्नुपर्ने उनको भनाइ छ।
सरकारले यो परिवर्तन अध्यादेशमार्फत लागू गरिसकेको बताउँदै उनले यो कदम कुनै पार्टीविरुद्ध नभई प्रणाली सुधार र देशलाई संस्थागत मार्गमा लैजाने प्रयास भएको स्पष्ट पारे।







