एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वमा बढ्दो तनाव र सम्भावित विश्वव्यापी ऊर्जा सङ्कटका बीच भारतीय नागरिकलाई पेट्रोल, डिजेल र ग्यासको प्रयोग सकेसम्म घटाउन अपिल गरेका छन् ।
उनले अनावश्यक इन्धन खपतले भारतको विदेशी विनिमय सञ्चितिमा दबाब पर्ने र युद्धजन्य अवस्थाको असर अर्थतन्त्रमा प्रत्यक्ष देखिने बताएका हुन् ।
हैदराबादमा करिब ९ अर्ब ४० करोड भारतीय रुपैयाँ बराबरका विभिन्न परियोजनाको उद्घाटन तथा शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत अझै ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयातमा निर्भर रहेको उल्लेख गरे। यस्तो अवस्थामा नागरिकले विवेकपूर्ण रूपमा इन्धन प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।
मोदीले विश्व अहिले गम्भीर ऊर्जा सङ्कटको चरणबाट गुज्रिरहेको र मध्यपूर्वमा जारी युद्ध तथा तनावले जोखिम अझ बढाएको बताए। उनले पेट्रोलियम पदार्थको अत्यधिक प्रयोगले देशको अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने भएकाले आवश्यकताअनुसार मात्र प्रयोग गर्न आग्रह गरे।
प्रधानमन्त्री मोदीले भारतले वैकल्पिक ऊर्जातर्फ तीव्र रूपमा अघि बढिरहेको पनि बताए। सौर्य ऊर्जा, इथानोल, सीएनजी र पाइप्ड ग्यासलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले पछिल्ला वर्षमा भारत सौर्य ऊर्जाको क्षेत्रमा विश्वका अग्रणी राष्ट्रमध्ये एक बनेको दाबी गरे।
उनले पेट्रोलमा इथानोल मिसाउने अभियान तीव्र रूपमा अघि बढाइएको जानकारी दिँदै सरकारले एलपी ग्यासपछि अब घर–घरमा पाइपबाट सस्तो ग्यास उपलब्ध गराउनेतर्फ जोड दिएको बताए।







