विराटनगर। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र निरंकुशता हाबी हुन खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आइतबार नेपाली कांग्रेस संस्थापन इत्तर समूहले विराटनगरमा आयोजना गरेको कोसी प्रदेशस्तरीय एकता भेलालाई सम्बोधन गर्दै चिन्ता व्यक्त गरेका हुन् ।
नेता कोइरालाले लोकतन्त्रको लागि लडेको कांग्रेसमा नै निरङ्कुशता सुरु भएको भन्दै अहिले कांग्रेसले सबै शक्तिलाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
कांग्रेसको जन्म लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि भएको हो । तर, अहिले देशैभरि वडाका सभापतिहरूलाई मौखिक रूपमा हटाउने काम भएको छ । के-को निम्ति भन्दा अद्यावधिक गर्न नमानेको आधारमा हटाइयो । यो निरंकुशताको सुरुवात हो,’ कोइरालाले भने ।
कोइरालाले पार्टीभित्र देखिएको तीव्र मतभेदका बाबजुद आफूले कुनै पनि हालतमा कांग्रेस फुट्न र फुटाउन नदिने प्रतिवद्धता जनाएका छन्।
कोइरालाले थप भने- ‘कांग्रेसभित्र सहमति, सहकार्य र एकता हुनुपर्छ । कांग्रेस कमजोर हुँदा देशको सार्वभौमिकता र अखण्डता कमजोर हुन्छ । त्यसैले पार्टी फुट्न हुँदैन ।’
साथै पार्टीभित्र र प्रदेश तहको राजनीतिमा अहिले त्रासको वातावरण सिर्जना गरिएको दाबी गर्दै उनले यस्तो डर, धम्की र त्रासका बाबजुद मनको भय हटाएर कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।







