झापा । नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको संरक्षण तथा पुनःनिर्माण गर्ने विषयमा दुवै देशका अधिकारीबीच संयुक्त छलफल भएको छ ।
पूर्वी नेपालका नेपाल भारत सीमा स्तम्भहरू कमजोर भएको, नदीको बहावले लडाएकोले समस्या भएपछि ती सीमा स्तम्भहरूको मर्मत सम्भार गर्ने विषयमा दुई देशका अधिकारहरूबीच आज झापाको बिर्तामोडमा छलफल भएको हो ।
नापी विभाग, सीमा शाखा काठमाडौंको आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमा क्षेत्रमा सञ्चालित फिल्ड कार्यको प्रगति मूल्याङ्कन गरिएको थियो । बैठकमा संयुक्त टोलीले पछिल्ला तीन महिनामा गरेका कामको विवरण प्रस्तुत गर्दै मर्मत गरिएका तथा पुनःनिर्माण आवश्यक रहेका सीमास्तम्भबारे जानकारी गराएको थियो ।
बैठकमा दुवै देशका अधिकारीहरूले सीमा क्षेत्रमा शान्ति, सुरक्षा तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकमा नेपाल-भारत सीमा क्षेत्रमा रहेका विभिन्न विषय, सीमा व्यवस्थापन, समन्वय तथा आपसी सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।
सीमासम्बन्धी प्राविधिक विषयमा नियमित रूपमा हुने बैठकले सीमाङ्कनको स्पष्टता कायम राख्न तथा सीमास्तम्भको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं र अञ्जन न्यौपाने, नापी अधिकृत शिवप्रसाद लम्साल, डिभिजन वन अधिकृत नथुनी गोहीयारी यादव, सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्का सहभागी थिए ।
त्यसैगरी, इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी उपरीक्षक कुलदीप चन्द, सशस्त्र प्रहरी नायब उपरीक्षक हेम पौडेल, डिभिजन वन अधिकृत राजकुमार खत्री, सहायक अनुसन्धान अधिकृत सुशान्त बराल तथा सशस्त्र प्रहरी उपरीक्षक केशवराज प्याकुरेलको सहभागिता थियो।
ताप्लेजुङबाट सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई, कार्यवाहक डिभिजन वन अधिकृत ललितकुमार यादव, प्रहरी नायब उपरीक्षक उमेश जोशी र सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठक सहभागी थिए ।
भारतीय पक्षबाट विहार राज्यको किशनगन्ज जिल्लाका ‘डिस्ट्रिक्ट मजिस्ट्रेट’ विशालराज, सशस्त्र सीमा बल (एसएसबी)का १९औँ बटालियनका कमान्डेन्ट योगेशकुमार सैनी, ३६औँ बटालियनका कमान्डेन्ट सञ्जीव कुमार, उपकमान्डेन्ट अभिजित दास, आठौँ बटालियनका कमान्डेन्ट वसन्त सामी तथा सर्वेक्षक अधिकृत सन्तोष प्रसाद र हिमाद्री शेखर चक्रवर्तीलगायत अधिकारी सहभागी थिए ।
यसैबीच बैठकमा दशगजा क्षेत्रमा भइरहेको अतिक्रमणका विषयमा कुरा उठेपछि झापाको कचनकवल–५ पाठा मारीमा नेपाल तर्फ लगाइएको चिया फाँडिएको छ ।
बैठकपछि सुनकोशी चिया बगानले दशगजामा चिया लगाएको करिब ६०-६५ वटा चियाका बोट नेपाल भारत संयुक्त सीमा गस्तीले फाँडेको हो ।
यही जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले समेत भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्ति सच्चाउनु पर्ने मागसहित विपक्षी दलले सर्वत्र विरोध थालेको छ । यद्यपी, यो बैठक सीमा विवादका विषयमा नभई कमजोर स्तम्भहरूको बारेमा मात्रै छलफल भएको बताइएको छ ।







