काठमाडौं । भारत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेल परियोजनाको प्रगति समीक्षा तथा रेल क्षेत्रको द्विपक्षीय सहकार्य विस्तारबारे काठमाडौंमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।

जुन ११ र १२ मा काठमाडौंमा आयोजित भारत–नेपाल सीमापार रेल सम्पर्कसम्बन्धी १०औँ प्रोजेक्ट स्टेयरिङ कमिटी (पीएससी) र ८औँ संयुक्त कार्य समूह (जेडब्लुजी) बैठकमा दुवै देशका प्रतिनिधिहरूले जारी रेल परियोजनाको कार्यान्वयन र समग्र रेल सहकार्यबारे समीक्षा गरेका हुन् ।

बैठकमा भारत सरकारको अनुदान सहयोगमा निर्माणाधीन जयनगर–बिजलपुरा–बर्दिबास तथा जोगबनी–विराटनगर ब्रोडगेज रेलमार्गको प्रगतिबारे छलफल भएको थियो ।

त्यसैगरी, जनकपुर–अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालनका लागि आवश्यक मानक सञ्चालन कार्यविधि (एसओपी), रक्सौल–काठमाडौं ब्रोडगेज रेलमार्गको अन्तिम स्थान निर्धारण सर्वेक्षण (एफएलएस) प्रतिवेदन, पूर्व–पश्चिम रेलमार्गका लागि प्राविधिक सहयोग, तथा सम्भावित थप रेल सम्पर्क परियोजनाबारे पनि विचारविमर्श गरिएको थियो ।

बैठकमा दुवै पक्षले रेल क्षेत्रमा जारी सहकार्यलाई थप मजबुत बनाउन निकट समन्वय र नियमित संवादलाई निरन्तरता दिने सहमति जनाएका छन् ।

भारत र नेपालबीच सीमापार रेल सम्पर्क विस्तारलाई दुई देशबीचको आर्थिक, व्यापारिक तथा जनस्तरीय सम्बन्ध सुदृढ बनाउने महत्वपूर्ण पूर्वाधार परियोजनाका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको