कालीकोट । कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नित्रिवेणी गाउँपालिका–४ मा रहेको श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्य सुरु भएको छ। बिहीबार आयोजित विशेष समारोहबीच विद्यालय भवनको शिलान्यास गरिएको हो।
नेपाल–भारत विकास सहकार्यअन्तर्गत निर्माण हुन लागेको उक्त भवनका लागि भारत सरकारले करिब ९ करोड ३० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको भारतीय राजदूतावासले जनाएको छ। सान्नित्रिवेणी गाउँपालिकामार्फत कार्यान्वयन हुने यो योजना कालीकोट जिल्लाको पहिलो उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना (एचआइसिडिपी) रहेको बताइएको छ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले नयाँ विद्यालय भवन निर्माणले दुर्गम क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गर्दै नेपाल र भारतबीचको विकास सहकार्य आगामी दिनमा पनि निरन्तर रहने बताए। उनले शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका क्षेत्रमा भारत सरकारले नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे।
भारतीय पक्षका अनुसार हालसम्म नेपालका ७४ जिल्लामा करिब ६०० वटा सामुदायिक विकास परियोजना सञ्चालनमा रहेका छन्। तीमध्ये १८ वटा परियोजना कर्णाली प्रदेशमा कार्यान्वयन भइरहेका छन्। साथै कर्णाली प्रदेशका स्वास्थ्य तथा शिक्षा संस्थालाई ५६ वटा एम्बुलेन्स र १४ वटा विद्यालय बस उपलब्ध गराइएको छ, जसमध्ये कालीकोट जिल्लाले ४ वटा एम्बुलेन्स र २ वटा विद्यालय बस प्राप्त गरिसकेको छ।

नयाँ विद्यालय भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीहरूले सुरक्षित र आधुनिक शैक्षिक वातावरणमा अध्ययन गर्ने अवसर पाउने अपेक्षा गरिएको छ। स्थानीयवासीले पनि यस परियोजनाले क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।







