सप्तरी ।  सामुदायिक तथा संस्थागत विद्यालयलाई थप कक्षा सञ्चालनको अनुमति दिनुपर्ने लगायत विभिन्न माग राख्दै सप्तरीको छिन्नमस्ता गाउँपालिकाका विद्यालय सञ्चालकहरू आन्दोलनमा उत्रिएका छन्।

विद्यालय सञ्चालक बाबु नारायण मण्डलको नेतृत्वमा सञ्चालित आन्दोलनमा तीन प्रमुख माग अघि सारिएको छ। आन्दोलनरत पक्षले सामुदायिक विद्यालयमा विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने, आर्थिक वर्ष २०८२/८३ को शैक्षिक कार्यक्रम तथा योजना सार्वजनिक गर्नुपर्ने र सामुदायिक तथा संस्थागत विद्यालयलाई थप कक्षा सञ्चालनको अनुमति प्रदान गर्नुपर्ने माग गरेको छ।

आन्दोलनका अगुवा मण्डलले गाउँपालिकाको शिक्षा शाखाले थप कक्षा सञ्चालन अनुमति प्रदान गर्ने नाममा विद्यालय सञ्चालकहरूसँग रकम असुल गरेको आरोप लगाएका छन्। उनका अनुसार शिक्षा शाखा संयोजक सन्तोष रायले थप कक्षा सञ्चालन अनुमतिका लागि प्रति विद्यालय २५ हजार रुपैयाँका दरले रकम लिएको दाबी गरेका छन्।

“थप कक्षा सञ्चालन अनुमति दिने भन्दै विद्यालयहरूबाट २५ हजार रुपैयाँसम्म रकम उठाइएको छ। यस विषयमा निष्पक्ष छानबिन हुनुपर्छ,” मण्डलले भने।

यता शिक्षा शाखा संयोजक सन्तोष रायले भने आफूले कसैसँग कुनै किसिमको रकम नलिएको बताएका छन्। आरोपबारे प्रतिक्रिया दिँदै उनले विद्यालय सञ्चालकहरूले लगाएको आरोप निराधार रहेको दाबी गरे।

“मैले कुनै विद्यालय वा सञ्चालकसँग रकम लिएको छैन। ममाथि लगाइएको आरोप तथ्यहीन छ,” रायले भने।

विद्यालय सञ्चालकहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन्। उनीहरूले गाउँपालिकाको शिक्षा प्रशासनलाई पारदर्शी बनाउन तथा विद्यालयहरूको शैक्षिक विस्तारका लागि आवश्यक अनुमति प्रक्रिया सहज बनाउन माग गरेका छन्।

यस विषयमा गाउँपालिकाको आधिकारिक धारणा आउन बाँकी रहेको छ। आन्दोलन र आरोप–प्रत्यारोपका बीच शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले भने तथ्यगत छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
1

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको