अन्तर्राष्ट्रिय राजनीतिमा शक्तिको होडबाजीका कारण विगतमा विश्व दुई धुव्रमा विभाजित हुन पुगेको थियो । अमेरिकाले पुँजीवादको नेतृत्व गर्न पुग्यो भने समाजवादी रुसले साम्यवादी धारको नेतृत्व गर्न पुग्यो ।पचष्कजलब पअ
जस कारण साना स्वतन्त्र उत्पीडित राष्ट्रहरु आफ्नो रक्षाका लागि यो वा त्यो ध्रुवमा लाग्न बाध्य हुनपर्ने परिस्थिति सिर्जना गयो । जसकारण साना स्वतन्त्र राष्ट्रहरुले आफ्नोे रक्षाका लागि मध्य मार्गी बाटो अवलम्बन गर्न पुगे । कुनै पनि शक्ति राष्ट्रका पक्षमा नलागी आफ्नो स्वतन्त्र पराराष्ट्र नीति अबलम्बन गर्न तयार भए ।
जसलाई असग्लंन आन्दोलन भनियो । यो आन्दोलनमा नेपाल मात्र होइन चीन भारत जस्ता राष्ट्र पनि यसका सदस्य भए । रुस र अमेरिकाबीचको शक्ति सङ्घर्ष र हतियारको होडबाजी यसले सिर्जना गरेको अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिले तत्कालीन समयमा चीन र भारत जस्ता अहिलेका उदयीमान शक्ति राष्ट्रहरुले समेत आफूलाई असुरक्षित महशुस गरी असंलग्न आन्दोलनमा सहभागी हुन बाध्य भएका थिए । तर सोभियत रुसको विघटनसँगै साम्यवादको पतन र शीत युद्धको अन्त्य भएको घोषण गरेर अमेरिकाले एक ध्रुवीय विश्वको घोषणा गर्यो ।
तर यो घोषणा गरेको केही वर्ष नबित्दै समाजवादी चीनले हिजो सोभियत रुसको ठाउँमा आफूलाई विकसित गर्दै अमेरिकालाई चुनौती दिँदै शक्ति राष्ट्रको रुपमा उदय भएको छ भने भारतले पनि आफूलाई चीन अमेरिकासँगको प्रतिस्पर्धी राष्ट्रका रुपमा विकास गर्न कोसिस गर्दैछ । पछिल्ला दिनमा चीन र भारत जस्ता राष्ट्रले गरेको विकास र उनीहरु बीचको आपसी होडबाजीका कारण नेपाल जस्तो कमजोर छिमेकी राष्ट्रमा विभिन्न चुनौतीहरु देखा परेका छन् ।
यी चुनौतीहरुको राष्ट्रिय रुपमा सामाना गर्दै अवसरमा बदल्नका लागि नेपालको राजनीतिक नेतृत्वको इतिहासमा परीक्षण हुँदैछ । तर मुलुकको राजनीति कूटनीतिलाई सञ्चालन गर्ने कतिपय राजनीतिक दल र यसका नेताहरु यतिबेला दुई छिमेकीलाई सन्तुलनमा राख्नुभन्दा पनि कुनै एक छिमेकीसँग जोडेर एक आपसमा आरोप प्रत्यारोप गर्दै सत्ता स्वार्थलाई केन्द्रमा राखेर भारत वा चीनको दलाली गर्ने प्रवृत्ति देखा पर्दैछ ।
हिजो आफू कमजोर हुँदा अंसलग्न आन्दोलन मार्फत आफूलाई अगाडि बढाएका चीन र भारतले विगतको आफ्नो इतिहास बिर्सेर अहिले नेपालजस्तो कम्जोर सानो राष्ट्रलाई आफ्नो प्रभावमा राख्न खोजिरहेका छन् । उनीहरुले आफ्नो राष्ट्रिय स्वार्थका लागि नेपाललाई प्रयोग गर्न खोजे पनि नेपाल र यहाँ प्रमुख राजनीतिक दलका नेताहरुले आफूले परम्परादेखि अपनाउँदै आएको सन्तुलित तटस्थ अंसलग्न परराष्ट्र नीतिलाई कायम नै राखेर अगाडि बढ्नुको विकल्प छैन ।
एमालेको नियति
यति बेला नेपाली राजनीति दलहरुका नियतिका कारण मुलुक विदेशीहरुको प्रयोगशाला बन्ने त होइन भन्ने आशंका जन्मिदै छन् । पछिल्लो चरणमा एमाले जस्तो जिम्मेवार राजनीतिक दलको गतिविधि, यसले लिएका कतिपय निर्णय र शीर्ष नेतृत्वको सार्वजनिक अभिव्यक्तिका कारण पनि छिमेकी देशहरुसँगको सम्बन्धमा थप असर पर्दैछ । विगतमा ओली नेतृत्व सरकारले अपनाएका असन्तुलित विदेश नीतिका कारण मुलुकको आन्तरिक राजनीतिक परिस्थिति र छिमेकीसँगको सम्बन्ध जटिल बन्दै गयो ।
यो परिस्थिति सहज बनाउनका लागि ओली नेतृत्वको सरकारलाई विस्थापन गरी नयाँ सरकार निर्माण गर्नुपर्ने अवस्था सिर्जना हुँदै गयो । जसकाकारण काङ्ग्रेस, माओवादी केन्द्र, मधेसवादी दलहरुको गठबन्धन र सहयोगमा नयाँ सरकारका गठन भयो । जुन सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् । सरकार गठन हुँदा प्रधानमन्त्री प्रचण्डले छिमेकी राष्ट्र चीन र भारतसँग सिर्जना भएको आपसी अविश्वास र आशंकालाई हल गरी आपसी सम्बन्धमा नयाँ उचाइमा विकास गर्न विशेष पहल गरे ।
त्यसका लागि प्रधानमन्त्रीले आफ्नो सरकार दुई जना उपप्रधानमन्त्रीहरुलाई विशेष दूतका रुपमा चीन र भारतमा पठाए । विशेष दूतहरुको भ्रमणपछि नेपालमा छिमेकी देशहरुबाट उच्च स्तरीय राजनीतिक भ्रमण हुने सुनिश्चित भयो । सरकारको यो कामलाई नेपालमा मात्र होइन चीन र भारतमा समेत स्वागत भयो । तर दुखको कुरा सत्ता बहिर्गमनको पीडा बोकेको एमालेले सरकारको यो कदमलाई आलोचना गर्यो । आफ्नो राष्ट्रवादी अडानका कारण भारतको सहयोगमा वर्तमान सरकार गठन भएकाले आफू सत्ताबाट बाहिरिन परेको आरोप लगाउँदै आएको एमालेले विगतमा प्रदीप ज्ञवालीलाई विशेष दूतको रुपमा भारत पठाएको कुरालाई बिर्सेर एमाले यो आलोचना गर्यो ।
नयाँ सरकारले मुलकको आन्तरिक राजनीतिमा देखिएको समस्यालाई हल गरी नयाँ सविधान स्वीकार्यताको दायारालाई फराकिलो बनाउन गरेको प्रयास मधेसी मोर्चासँगको सहमति, चीन र भारतका लागि नयाँ राजदूतको सिफारिस, संसदमा प्रधानमन्त्रीको सम्बोधन र जनजीविका लगायत सार्वजानिक सरोकारको विषयमा सरकारले गरेका प्रतिबद्धतासम्म आइपुग्दा एक महिनामै नेपाली जनताकाबीच सरकार लोकप्रिय बन्दै गएको देखिन्छ । सरकारले अपनाएका सन्तुलित परराष्ट्र नीति र राजनीतिक समस्या हल गर्न चालिएका कदमबाट मुलकले राजनीतिक निकास पाउन सक्ने सकारात्मक सम्भावना देखा परिरहेका छन् । सरकारका यी सकारात्म कदमलाई एमाले जस्ता जिम्मेवार प्रतिपक्षले रचनात्मक सहयोग गर्नुको बदला आलोचना गरेर सरकारबाट बहिरीकरण हुन परेको पीडामाथि नुनचुक छर्दै छ ।
वर्तमान सरकार र यसका प्रधानमन्त्रीलाई भारत प्ररस्तको आरोप लगाएर सरकारले गरेका राम्रा कामहरुलाई ओझेलमा पार्ने र प्रधानमन्त्रीलाई बदनाम गर्दै एमालले आफूलाई अब्बल दर्जाको राष्ट्रवादीको रुपमा प्रस्तुत गर्ने दुष्प्रयास गर्दैछ । भारतीय शासकहरुले नेपालप्रति गर्दै आएकोे विभेदपूर्ण व्यवहारका कारण नेपाली जनतामा भारतविरोधी भावना व्याप्त छ ।
जनताको यही भावनाबाट फाइदा उठाउन एमालेले आफूलाई राष्ट्रवादीको रुपमा प्रचार गर्दै आगमी चुनावससम्म त्यसलाई चुनावी मसला बनाउन खोजेको देखिन्छ । नेपाली राजनीतिमा आफूलाई राष्ट्रवादी वा देशभक्त सावित गर्नका लागि जो कसैलाई पनि भारत परस्त आरोप लगाउने चलन स्थापित छ । महाकाली सन्धि जस्तो राष्ट्रघाती सन्धि पारित गराएर भारतलाई रिजाएर ठूलो गुण लगाएका एमाले अध्यक्ष ओलीले यतिबेला आफूलाई राष्ट्रवादी सावित गर्न माओवादी केन्द्र र काङ्ग्रेसलाई राष्ट्रघाती करार गर्न कम्मर कसेर लागेका छन् । आफु प्रधानमन्त्री हुदा भारत भम्रणमा जानु पुर्व आफ्ना परराष्टमन्त्री मार्फत चारबुँदे प्रस्ताव भारत सरकार समक्ष पेश गरे भनिएका ओलीले वर्तमान प्रधानमन्त्रीले आफ्नो विशेष दूत मार्फत भारतीय प्रधानमन्त्रीलाई पत्र पढाएकोमा आपत्ति व्यक्त गर्दै उक्त पत्र सार्वजनिक गर्न माग गर्नुले एमालेको कूटनीतिक हैसित र नियत प्रष्ट हुन्छ । विगतमा भारतीय नाकाबन्दी र यसले सिर्जना गरेको विषम परिस्थितिको मुकाबिला गर्दै नेपाली जनताले राष्ट्रिय स्वाभिमानको परिचय दिए ।
जनताको यो राष्ट्रवादी भावनाको प्रेरणाले तत्कालीन अवस्थामा एमाले माओवादी गठबन्धन सरकारले मित्र राष्ट्र चीनसँग व्यापार तथा पारवहन सन्धि गर्ने आट गर्यो । यो ऐतिहासिक कार्यको नेपाली जनताले स्वागत गर्दै सरकारलाई साथ दिए भने अर्कोतर्फ यो सन्धिसँगै नेपालले भारतमाथिको परनिर्भरताको अन्त्य गरी व्यापर विविधीकरणको ढोका खुल्न पुग्यो । एक स्वतन्त्र राष्ट्रको हैसियतले चीनसँग गरेको यो सम्झौतालाई आफैले मात्र गरेको ठानी हिजो आफ्नै सरकार रहेर साथ दिएको माओवादी केन्द्रलाई रातारात राष्ट्रघाती र भारत प्रस्वत देख्नु ओलीको नियतमा नै खोट देखिन्छ । एमालेजनलाई ख्याल हुन पर्ने हो, आफुलाई राष्ट्रवादी सावित गराउन आफ्नो कर्ममा भन्दा अरुलाई राष्ट्रघाती वा भारत परस्तको आरोप लगाउनु जति खतरनाक छ भारतको विरोध गरेर राष्ट्रवादी हुन खोज्नु पनि मुलुका लागि त्यति नै आपति जनक छ । यति बेला एक आपसमा राष्ट्रवादी र राष्ट्रघाती भनेर कुनै छिमेकीसँग कूटनीतिक मर्यादा विपरीत जिम्मेवार नेताहरु सार्वजनिक मञ्चमै कुर्लिनु लज्जास्पद कुरो हो ।
राष्ट्रको नेतृत्व गरेको एउटा जिम्मेवार नेताले छिमेकीसँगको कूटनीतिक सम्बन्ध र आन्तरिक राजनीतिलाई नै खलबल पार्ने गरिदिने गरिएका अभिव्यक्तिलाई जिम्मेवारपूर्ण ठान्न सकिँदैन । आफ्ना देशभित्रका राजनीतिक समस्यालाई हल गर्न सहमतिको बाटो खोज्दै चीनसँग विगतका सम्झौताहरुलाई कार्यान्वयनमा लाउने र भारतसँग बिग्रेको सम्बन्धलाई सुधार गर्न सरकार मात्र नभएर प्रतिपक्ष दलको पनि जिम्मेवार र सुझबुझपूर्ण व्यवहार खाँचो पर्दछ । त्यसका लागि एमाले पार्टी यसको शीर्ष नेतृत्वको वर्तमान गतिविधि बाधक देखिँदैछ । यसलाई एमालेले तत्काल सच्याएन भने मुलुक र स्वयं एमालेका लागि पनि प्रतिपादक हुने छ ।
दुख साथ भन्नै पर्छ, आफूलाई जति राष्ट्रवादी सावित गर्न खोजे पनि आन्तरिक रुपमा सत्ता आरोहणका लागि भारतीय खुबिया एजेन्सीका प्रतिनिधिसँग उपाचरका बाहानामा विदेशमा भेटी जिउ हजुरी गर्नुलाई पाखण्ड बाहेक केही भन्न सकिँदैन ।
नेपालको कूटनीति संवेदनशीलता
अन्तर्राष्ट्रिय राजनीतिमा नेपालजस्ता साना राष्ट्रहरुको आफ्नै भूमिका छ । चीन र भारत जस्ता ठूला शक्ति राष्ट्रहरुको बीच रहेको नेपाल दुई ढुङ्गा बीचको तरुल नभएर यी राष्ट्रलाई जोड्ने पुल बन्न सक्नु पर्दछ । यसको अर्थ नेपालको कूटनीतिक सम्बन्ध दुवै राष्ट्रलाई सन्तुलित राख्ने हुनुपर्दछ भन्ने हो ।
तुच्छ सत्ता र सरकारका लागि कुनै पनि जिम्मेवार दल वा त्यसका नेताले कसैलाई पनि छिमेकी परस्तको आरोप लगाउनुको अर्थ छैन । नेपाल संवेदनशील भू–राजनीतिक अवस्थितिका कारण दुवै छिमेकीहरुका नेपालप्रतिका गतिविधिमाथि नै सशंकित देखिन्छन ।
यतिसम्म कि चीनले आफ्नो रेल सेवा नेपालको सीमासम्म विस्तार गर्दै त्यसलाई नेपालसम्म जोड्न सकिने बताइरहँदा होस् वा नेपालले चीनसँग कुनै सम्झौता गर्दा होस्, भारतको सत्तालाई ज्वरो आउने गर्दछ भने भारतले नेपाललाई आर्थिक सहयोग गर्दा वा भारितीय अधिकारीहरुको नेपाल भम्रणलाई चीनले संवेदनशील ठान्दछ । यस्तो जटिल र सम्वेदनशील मुलुकका राजनीतिक दल र तिनका नेताहरुले कुनै पनि छिमेकी मुलुकका विरुद्ध आफूलाई उभ्याएर राष्ट्रवादी सावित गर्न खोज्नु दुर्भाग्यपूर्ण मात्र होइन नेपालको तटस्थ र असंलग्न परराष्ट्र नीति र परम्पराको खिलाप र कुटनीतिक मर्यादा विपरितको कार्य हो ।
अन्तर्राष्ट्रिय राजनीतिमा शक्तिको होडबाजीका कारण विगतमा विश्व दुई धुव्रमा विभाजित हुन पुगेको थियो । अमेरिकाले पुँजीवादको नेतृत्व गर्न पुग्यो भने समाजवादी रुसले साम्यवादी धारको नेतृत्व गर्न पुग्यो ।
– See more at: http://www.ratopati.com/bichar-dristikon/%e0%a4%95%e0%a5%82%e0%a4%9f%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%ae%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a4%be-%e0%a4%b0-%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87/#sthash.Ea0tRSoG.dpuf