लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय राजदूतावास, लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको संयुक्त आयोजनामा विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइएको छ ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने सन्देश दिएको नेपालस्थित भारतीय दुतावासले एक्समार्फत जानकारी दिएको छ ।
बुद्ध जयन्तीको अवसरमा आयोजित उक्त समारोहमा नेपाल र भारत दुवै देशको कला र संस्कृति झल्किने विभिन्न गतिविधिहरू सञ्चालन गरिएका थिए । समारोहमा भारत र नेपालका बौद्ध भिक्षुहरूद्वारा शान्तिको कामना गर्दै सामूहिक प्रार्थना तथा पाठ गरिएको थियो ।
विद्यार्थीहरूले बुद्धको जीवनी र शान्तिका सन्देशमा आधारित चित्रकला प्रदर्शनी गर्नुका साथै सांस्कृतिक साँझ आयोजना गरिएको थियो । विशेष सांस्कृतिक कार्यक्रममा दुवै देशका कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए ।
सांस्कृतिक कार्यक्रममा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (ICCR) को तर्फबाट दीप्ति गुप्ताको नेतृत्वमा आएको टोलीले ‘बुद्ध दर्शन’ मा आधारित मनमोहक कथक नृत्य प्रस्तुत गरेको थियो । त्यसैगरी, नेपाली पक्षबाट प्रसिद्ध सरोद वादक सुरेशराज बज्राचार्यको नेतृत्वमा रहेको सांगीतिक समूहले बुद्धको शिक्षा र शान्तिलाई समेट्दै विशेष सांगीतिक प्रस्तुति दिएको थियो ।

बुद्धको जन्मस्थलमा आयोजित उक्त संयुक्त कार्यक्रमले बुद्ध धर्मको विश्वव्यापी महत्वलाई झल्काउनुका साथै छिमेकी मुलुक भारत र नेपालबीचको साझा सम्पदालाई प्रवद्र्धन गरेको आयोजकले जनाएका छन् । कार्यक्रममा लुम्बिनी विकास कोषका पदाधिकारी, विश्वविद्यालयका प्राज्ञहरू तथा विभिन्न देशका तीर्थयात्रीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।







