काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जान चाहने युवालाई म्यानपावर कम्पनीसँग नगदमा कुनै पनि आर्थिक कारोबार नगर्न कडा आग्रह गरेको छ।
बिहीबार जारी सूचनामार्फत विभागले नगदमा लेनदेन गर्दा ठगीको जोखिम उच्च हुने र समस्या परेमा प्रमाण जुटाउन कठिन हुने भएकाले यस्तो कारोबारबाट टाढा रहन सचेत गराएको हो।
विभागका अनुसार वैदेशिक रोजगारीका लागि इजाजतपत्र प्राप्त म्यानपावर संस्था, तिनका सञ्चालक, कर्मचारी वा प्रतिनिधिलाई नगद रकम दिनु वा लिनु दुवै जोखिमपूर्ण हुन्छ। ‘वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि आर्थिक कारोबार नगदमा नगर्नु–नगराउनु हुन अनुरोध छ,’ सूचनामा उल्लेख गरिएको छ।
यससँगै विभागले म्यानपावर कम्पनीहरूलाई समेत नगद कारोबार नगर्न निर्देशन दिएको छ। सेवा शुल्कलगायतका सबै रकम अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र भुक्तानी गर्नुपर्ने बताउँदै यसले पारदर्शिता र सुरक्षित रोजगारी सुनिश्चित गर्ने उल्लेख गरेको छ।
‘ठगीबाट बच्न, आर्थिक कारोबारलाई पारदर्शी बनाउन तथा सुरक्षित वैदेशिक रोजगारीका लागि सेवा शुल्क बैंकिङ माध्यमबाट मात्रै बुझाउनुपर्छ,’ विभागले स्पष्ट पारेको छ।
विभागले वैदेशिक रोजगारीमा जाने युवालाई रकम भुक्तानीको प्रमाण सुरक्षित राख्न पनि आग्रह गरेको छ। बैंक भौचर, रसिद, तथा अनलाइन कारोबार विवरण जोगाएर राख्न सुझाउँदै भविष्यमा समस्या आएमा यिनै प्रमाण निर्णायक बन्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको