
राजविराज–सोमवार एका विहानै गाउँका सबै युवाहरु एक ठाउँमा भेला भए । उनीहरुको हाथमा कोदालो थियो र एक अर्का संग कुरा गरिरहेका थिए ‘यति दिन सम्म हेरियो कसैले अलिकति पनि आर्थिक सहयोग गरिदिएन अव आशा भरोसामा बस्नुको सट्टा आफै गर्नुपर्छ’ यो कुराकानी हो सप्तरीका एक गाउँका स्थानिय युवाहरुको ।
“असार महिनाबाट नै पम्पनहर देखि गाउँ सम्मको बाटो विग्रियो, सडकको ठाउँ–ठाउँमा ५ फिट सम्मको खाल्टो भएर साईकल मोटरसाईकल चलाउन पनि अप्ठ्यारो भएपनि कसैले सहयोग गरेन” कोदालो लिएर सडक बनाउन निस्किदै गरेका जमुनी मधेपुरा गाविस वडा नम्बर ८ स्थित छपकीका युवाहरु यसरी आफ्नो दुखेसो सुनाए ।
उनीहरुले गाउँ देखि पम्पनहरु सम्मको बाटो आफै बनाउन शुरु गरेर उदाहरणीय काम गरेका छन् । ५० जना भन्दा बढी स्थानिय युवाहरुले आफ्नो गाउँको सड्क आफ्नै स्तरबाट निर्माण गरेर अवरुद्धबाटो पूर्णरुपमा सञ्चालनमा ल्याएको स्थानिय भगवती प्रसाद साहले बताए ।
साहका अनुसार अझै सडक निर्माणको केहीकाम अहिले बाँकी छ त्यसको लागि युवाहरु मंगलबार फेरी काँधमा कोदालो लिएर आउने छन् र काम सम्पन्न गर्नेछन् ।
पम्पनहर देखि गाउँसम्म करिब १ किलोमिटर कच्चीबाटो गत असार महिना देखि विग्रिएर चारपांग्रे सवारी साधन गाउँमा आएको छैन् भन्छन् स्थानिय चन्देश्वर मंडल । सप्तरी सदरमुकाम राजविराज संगै जोडिएको जमुनी मधेपुरा गाविस स्थित वडा नम्बर ७ र ८ छपकी टोल नगरपालिकाबाट करिब ६ किलोमिटरको दुरीमा रहेपनि आवत जावत गर्न सजिलो छैन् तर अब बाटो बन्यो सजिलो भयो ।
गाउँमा निम्नमाध्यमिक विद्यालय छ, स्वास्थ्य चौकी छ गाविसका ९ वटै वडाका सेवाग्राहीहरु सेवालिन आउने गरेका छन् तर बाटोको समस्याले स्वास्थ्य चौकीमा कर्मचारीलाई पनि आउन समस्या भईरहेको अवस्थामा आफैले केही गर्नुपर्छ भन्ने सोचका साथ बाटो निमाणमा लागेको स्थानिय भगवती प्रसाद साह बताउँछन् ।
दैनिक रुपमा ट्याकटरको आवत जावतले बाटो विग्रिने गरेको स्थानिय रामरतन यादवको भनाई छ । उनले बर्ष भरि ट्याकटरबालाहरु आवत जावत गरेर धन कमाउने र बाटो विग्रिएपछि अलिकति माटो समेत नपुरिदिने गरेको गुनासो गरे ।
सडक निर्माणका लागि स्थानिय रामरतन यादव, भगवती प्रसाद साह, प्रमेश्वर राम र धर्मदेव मंडलले अगुवाई गरेका थिए ।