टोलको बारेमा नगरपालिका प्रमुखलाई केही थाहा छैन्
वीपी कोइराला, सप्तरी
सप्तरीको सप्तकोशी नगरपालिकामा यस्तो गाउँ छ जहाँ अहिले सम्म न त बिजुली बत्ती पुगेको छ न त हिड्न लायक बाटो नै । टोल जाने बाटो पोखरी बनेको छ । डुवानमा परेको सडक पारी टोल छ जुन पार गर्न खोला तरे झंै कपडा सुर्केर सरसमान कुम्लो बोकेर तर्नुपर्छ । एक दुई घर छाडेर अधिकांश घरहरुमा चर्पी समेत छैन् । सरोकारवाला निकाय कति गैरजिम्मेवार छ भन्ने कुराको ज्वलन्त उदाहरण हो यो ठाउँ जसको नाम हो क्रसर टोल ।
क्रसर उद्योग सँगै रहेकाले टोलको नाम क्रसर टोल तर छेउमै डुबान परेको सडकमा क्रसरको गिटी बालुवा पुग्न सकेन । टोल सप्तकोशी नगरपालिका भित्र छ तर टोलको हविगत हेर्दा यो कुनै दुरदराज विकासको पहँुच नभएको टापु जस्तो देखिन्छ ।
नगरपालिकाको भरिभाषा भन्दा बाहिर रहेको यो टोलको बारेमा बुझ्न पंक्तिकार जिल्ला प्रशासन कार्यालय पुग्यो । प्रमुख जिल्ला अधिकारीले नै गाउँको बारेमा अनभिज्ञ रहेको प्रतिक्रिया दिए । उनले सप्तकोशी नगरपालिकाका प्रमुख राजेन्द्र्र प्रसाद पोखरेललाइ फोन गरेर बुझ्दा उनलाइ पनि धेरै कुरा थाहा रहेनछ । स्थानिय स्तरमा सेवा सुबिधा प्रवाह गर्ने जिम्मेवार निकायको जानकारीमा नरहेको गाउँको विकास ठप्प नहोस् पनि कसरी ? सप्तरी र उदयपुर जिल्लालाई छुट्याउने नेपालकै जेठो नहर चन्द्र नहर देखि १ किलोमिटरको दुरीमा छ क्रसर टोल ।
२०२२ सालको बाढीमा त्रियुगा खोलाले बाँध फुटाएर बाटो फेरेपछि खोलावारीको जमिन खोला पारी पुग्यो । बर्षौ बितिसक्दा पनि यो ठाउमा न त सप्तरी जिल्लाको ध्यान पुगेको छ न त उदयपुर जिल्ला कै । सप्तरी जिल्लाको नक्सामै रहेको यो ठाउँमा बस्ती बसेको १५ बर्ष बितिसक्यो । टोलको बिकास ठप्प हँुदा समेत सप्तरीले नहेरेपछि गुहार माग्न उदयपुर जिल्ला समेत पुगे स्थानियवासी । तर कुनै ठोस पहलकदमी हुन सकेन । विकास निर्माणका लागि पटक पटक पहल गर्दा उदयपुर वन समितिले काठको विजुली पोल त दियो तर ३ बर्ष अघि गाडेका ति बिजुलीका खम्बा मक्कीएर लड्न मात्र बाँकी छन् । १ सय ५० जनाको करिव ९० विघा क्षेत्रफल रहेको यो टोलमा अब २५ घर मात्र बाँकी छन् । दुवै जिल्लाको सिमानामा रहेको यो टोलबासी आफुहरु शरणार्थीको जिवन बिताइरहेको बताउँछन् । त्रियुगा नदिको बाँध फुट्ला कि भन्ने त्रासमा रहेका टोलवासी स्तरीय सडक र विजुलीवत्तिको पर्खाइमा बसेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost