प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला नेपालले उठाएका कतिपय विषयलाई अर्को हप्ता हुने परराष्ट्रमन्त्रीस्तरीय बैठकबाट टुंगो लगाउन दुई देशका प्रधानमन्त्री सहमत भएको परराष्ट्रमन्त्रीले बताएका छन्।

उदीयमान अर्थतन्त्र भएका पाँच मुलुकको समूह ब्रिक्सको सम्मेलनका लागि भारतको गोवा पुगेका प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आइतबार राति भएको भेटवार्तामा यसअघि सहमति भएका विषयलाई तत्काल कार्यान्वयनमा लैजाने विषयमा पनि छलफल भएको परराष्ट्रमन्त्री प्रकाशशरण महतले बताए।

प्रधानमन्त्री प्रचण्डले गत सेप्टेम्बरमा गरेको भारतको राजकीय भ्रमणका क्रममा दुई देशले ऊर्जा, पारवहन, पूर्वाधार विकास, प्रसारण लाइन लगायत विषयमा २५ बुँदे संयुक्त वक्तव्य जारी गरेका थिए।

उक्त वक्तव्यमा उल्लेखित विषयमा भएका प्रगतिबारे प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीले छलफल गरेको भेटमा सहभागी परराष्ट्रमन्त्री महतले बताए।

सहमति

मन्त्री महतका अनुसार त्यस क्रममा खासगरी नेपालले भारतसमक्ष उठाएका केही मुद्दालाई छिट्टै सम्बोधन गर्न दुई प्रधानमन्त्री सहमत भएका छन्।

उनले भने, “बाँकी नटुंगिएका कुराहरुलाई परराष्ट्रमन्त्रीस्तीय संयन्त्र छ, त्यो संयन्त्रको बैठक अक्टोबर २७ तारिखमा दिल्लीमा हुने र त्यसमा ती विषयहरुलाई छलफल गरेर टुंगो लगाउने भन्ने कुरा त्यहाँ भयो।”

मन्त्री महतका अनुसार प्रधानमन्त्री प्रचण्डको राजकीय भ्रमणका बेला नेपालले ऊर्जा बजारमा सहज पहुँचदेखि गण्डकबाट थप सिँचाइ सुविधा पाउनुपर्ने र नेपालतर्फ हुने डुबान समस्याको समाधान लगायतका विषय पनि उठाएको थियो।

र, ती विषय टुंगो लाग्न बाँकी छ।

विगतमा निकै चासोका साथ भारतीय पक्षद्वारा उठाउने गरिएको नेपालको संविधानको विषयमा यसपटक चाहिँ खासै कुराकानी नभएको बुझिएको छ।

निष्कर्ष

संविधानमा तराई केन्द्रित दलसहितका असन्तुष्ट पक्षको मागलाई समेटेर अघि बढ्नुपर्नेमा भारतले जोड दिँदै आएपनि भारतीय प्रधानमन्त्री मोदीले त्यसबारे कुनै जिज्ञासा नराखेको परराष्ट्रमन्त्री महतले बताए।

उनले भने, “संशोधन आदि इत्यादि कुरामा जाँदै गइएन। मोदीजीले त्यसमा के गर्दै हुनुहुन्छ भन्ने कुनै प्रश्न गर्नुभएन। हाम्रो प्रधानमन्त्रीले पनि हिमाल, पहाड, तराईलाई विश्वासमा लिएर संविधान कार्यान्वयमा लाग्नुछ भनेर भन्नुभयो।”

अनिश्चित बनेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को आगामी सम्मेलनबारे कतिपयले उक्त भेटमा कुराकानी हुने अड्कलबाजी गरेपनि भारतले खासै चासो नदेखाएको बताइएको छ।

परराष्ट्रमन्त्री महतले हाल शिखर सम्मेलनको वातावरण बनिनसकेको निष्कर्षमाझ दुई प्रधानमन्त्रीबीच त्यसबारे छलफल नभएको बताए । –वीवीसी नेपाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको