राजविराज । दशकौं पूर्व देखि सुन–चाँदीको अवैध ओसार–पोसार गर्ने प्रमुख मार्गको रुपमा रहेको जिल्लाको कुनौली भन्सारमा तस्करहरु वर्षात मौसम पश्चात पुनः सक्रिय भएका छन् ।
सुन–चाँदीको अवैध ओसार–पोसार गर्न समेत खुल्ला सिमाना तथा खुकुलो प्रशासनिक व्यवस्था रहेको हुँदा तस्करहरुलाई उक्त बाटो सहज भएको छ ।
मोटर साइकल, साइकल लगायत पैदल निर्वाध आवागमन गर्न झण्डै एक किलो मिटरको खुल्ला सिमाना रहेको हुँदा जतासुकै अर्थाकत प्रहरीको चेक प्वाईन्ट भएको बाटो हुँदै जानु पर्ने बाध्यता समेत रहेको छैन ।
अझ दैनिक हजारौं सर्वसाधारण नेपालीहरु दैनिक उपभोग्य सामग्रीहरु खरिद गर्न समेत दिनहुँ भारतीय कुनौली बजार आवत–जावत गर्ने गरेको हुँदा समेत तस्करहरु सोही अवसरको फायदा समेत उठाउने गर्छन ।
सुन–चाँदीको अवैध ओसार–पोसार गर्ने तस्करहरु सार्वजनिक सवारी साधन देखि लिएर मोटर–साइकलको टुल बक्स र सिटको समेत प्रयोग गर्ने गरेको स्रोतको दावी रहेको छ ।
स्रोतका अनुसार तस्करहरुले महिला, बालबालिका तथा विपन्न वर्गका व्यक्तिहरुलाई तस्करहरुले प्रयोग गर्ने गर्छन ।
हुनत ! यसअघि समेत राजविराज कुनौली सडक खण्ड तथा राजविराज नगर भित्रै तस्करहरु पक्राउ नपरेका होईनन ।
पछिल्लो पटक जिल्लाका तिलाठी–८बाट एक लाख चौविस हजार मुल्य बराबरको एक केजी सात सय पचास ग्राम चाँदीका तयारी गर गहना सहित एक भारतीय नावालकलाई प्रहरी चौकी तिलाठीका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला हरिनगरका १६ वर्षिय युवक उमेश पासवान पक्राउ परेका छन् ।
पक्राउ परेका पासवानलाई आवश्यक कारवाहीका लागि सोमबारै राजविराज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यत्ता पक्राउ परेका नावालक पासवानलाई विगो बमोजिमको रु. एक लाख चौविस हजार धरौटी लिई तारेखमा मंगलबार छाडिएको भन्सार कार्यालयका सूचना अधिकारी समेत रहेका बसन्त दास बताउँछन् ।
स्मरणीय छ, यसअघि केही महिना अगाडि समेत अवैध रुपले चाँदी ओसार–पोसार गर्दै गर्दा एक नावालक नै पक्राउ परेका थिए ।
सुन–चाँदीको अवैध ओसार–पोसारमा नावालकहरुको प्रयोग गर्ने गरिएको सूचना अधिकारी दास समेत स्वीकार्छन् ।
प्रहरीद्वारा अवैध सुन चाँदी अोसार–पोसार गर्ने व्यक्ति पक्राउ पर्नु र पक्राउ परेका व्यक्ति धरौटीमा छुट्ने गर्दा वास्तविक तस्कर हाल सम्म पर्दा पछाडि नै रहेको बुद्धिजिविहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost