
क्षेत्रीय सभापतिहरु भन्छन् ‘गलत प्रक्रिया
राजविराज । नेपाली काँग्रेसको १३औं महाधिवेशन पश्चात् आयोजित विभिन्न कार्यक्रमहरुमा मंचमा काँग्रेसी एक ढिक्का हुनुपर्नेमा जोड दिँदै गर्दा जिल्लामा नेपाली काँग्रेसमा गुप–उपगुटको राजनीतिक किचलो पुनः थालिएको छ ।
गाउँ, नगर र जिल्लामा व्याप्त गुट–उपगुटको राजनीतिक मौलाउँदै गरेको अवस्थामा बिहीबार जिल्लाको निर्वाचन क्षेत्र नं. ५ का क्षेत्रीय सभापति किरण कुमार भगतमाथि एक वर्ष नबित्दै क्षेत्रीय प्रतिनिधिहरुले अविश्वासका प्रस्ताव दर्ता गराएका छन् ।
सभापति भगतले निर्वाचित भएको मितिदेखि हालसम्म पार्टीको संगठन सुदृढिकरण हुने कुनै कार्य नगरेको निज भगतको क्रियाकलापले संगठन दिन प्रतिदिन कमजोर हुनुका साथै पार्टीको अस्तित्व समेत समाप्त हुन सक्ने सम्भावना रहेकोले सभापति भगत पदको दायित्व निर्वाह गर्न योग्य नरहेको जनाउँदै कुल १ सय सढसट्टी प्रतिनिधि रहेको उक्त क्षेत्रका ७१ जना प्रतिनिधि हस्ताक्षरित अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।
अविश्वास प्रस्ताव सम्बन्धमा क्षेत्रीय सचिव रामनारायण चौधरीद्वारा तोक आदेश गरी दर्ता नम्बर–१ मा दर्ता गरिएको छ ।
सो सम्बन्धमा सभापति भगतले अविश्वासको प्रस्तावलाई अवैधानिक बताउँदै चुनावी हराको कुण्ठित मानसिकताको उपज र अराजक तत्वहरुले आर्थिक चलखेल गरी गरेको नौटंकीको संज्ञा दिएका छन् ।
सभापति भगतले महिला संघको क्षेत्रिय अधिबेसन , तरुणदलको गाउँदेखी क्षेत्र सम्मको अधिबेसन र बैठक गरेको दावी गर्दै विगतको भन्दा संगठन बलियो रहेको बताएका छन् ।
उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा हार वेहोरेको र केही अराजक तत्वहरुले व्यापक रकमको चलखेल गरेको आरोप लगाउँदै रकमको लेनदेन गर्ने केही प्रतनिधिहरुको नामै समेत किटान गरे ।
सो सम्बन्धमा नेपाली काँग्रेस जिल्ला सदस्यले समेत रहेका कृष्ण देव यादवले रकमको चलखेल गरिएको आरोप लगाउँदै क्षेत्रीय सभापति भगतले केन्द्रीय नेतृत्व नेतालाई बोलाई पदभार ग्रहण कार्यक्रमका लागि छलफल गर्न शनिबार आफूलाई बोलाएको बताउँदै सभापति भगतको पक्षमा वकालत समेत गरे ।
महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद यादवले पार्टीको हित विपरीत काम गरेको बताउँदै पार्टीलाई धारासयी गर्ने कार्य गरेको बताए । उनले भने, ‘निर्वाचित भएको एक वर्ष नबित्दै अविश्वासको प्रस्ताव दर्ता गर्नु घोर निन्दन कार्य हो ।’
यता,सो सम्वन्धमा क्षेत्रिय सभापतिहरुले प्रक्रिया नै गलत रहेको धारणा व्यक्त गर्दै पार्टी कमजोर बनाउने षडयन्त्र भइएरहेको बताए ।
सप्तरी क्षेत्र नम्बर १ का सभापति ललन प्रसाद गुप्ता भन्छन्, ‘अविश्वासको प्रस्ताव दर्ता गराउने व्यक्ति पार्टीको हितमा कहिल्य पनि सोच्न सक्दैन बरु पार्टीलाई भाडभैलो गर्ने काम मात्र गर्न सक्छ । काम दिने मौका नदिई अविश्वासको प्रस्ताव दर्ता गराउनु गलत हो यसले गलत पारि पाटीको विकास गर्छ र अगामि दिनमा नेपाली काग्रेस कमजोर हुन्छ ।’
क्षेत्र नम्वर २ का सभापति बद्री महात्मान : ‘अविश्वासको प्रस्ताव दर्ता हुनुनै गलत हो । यो अविलम्ब रोकिनु पर्छ ।’
क्षेत्र नम्वर ३ का सभापति महानन्द प्रसाद यादव : ‘लोकतान्त्रिक विधिबाट निर्वाचित अध्यक्षलाई चार बर्ष सम्म दिएको म्यान्डेड विधान अनुसार स्वतन्त्र रुपमा कमकाज गर्न दिनु पर्छ । क्षेत्र नम्बर ५ मा सभापति उपर अविश्वासको प्रस्ताव दर्ता भएको सुन्दा दुःख लागाको छ । यो प्रक्रिया गलत हो । अगामी हुने स्थानिय निर्वाचन वा अन्य निर्वाचनमा प्रत्यक्ष रुपमा आँच पुग्ने छ ।’
क्षेत्र नं. ६ का क्षेत्रीय सभापति जितेन्द्र कुमार यादव : ‘दर्ता भएको प्रस्ताव विल्कुल गलत हो । राजनीतिक परिपक्वता नभएको कारण अविश्वासका प्रस्ताव दर्ता भएको हो । यो पार्टीको हित विपरित काम भएको छ ।’