माईसञ्चार न्यूजडेस्क

राजविराज–मिथिलाञ्चलका महापर्व छठ आईतवार अस्ताउदो सूर्यलाई अर्घ दिई मिथिलाका साथै तराई मधेश एवं देशै भरि मनाईदै छ ।

हिन्दु धर्मावलम्बी बाहेकका विभिन्न धर्मावलम्वीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समेतले यस पर्वलाई मनाउन थालेका कारण यसलाई लोकतान्त्रिक पर्वको रुपमा पनि व्याख्या हुन थालेको छ ।
छठ पर्वमा सूर्यदेवको पूजा–आजा, अराधना, प्रार्थना र अर्चना मुख्य रुपमा गरिन्छ र सूर्यले पनि मानिसको अस्तित्व र अस्मितालाई स्विकारी गरिव, धनी, सम्पन्न विपन्न सवैलाई सामान रुपबाट हेर्ने भएकाले पनि यसलाई समावेशीहरुको पर्व पनि भन्न थालेका छन् समाजका अगुवावर्गहरुले ।
पारिवारिक सुख समृद्धि र शान्तिको कामनाका लागि मनाईने महापर्व छठको तेश्रोदिन आईतवार अस्ताउदा सूर्यलाई अर्घ दिईदै छ । श्रद्धालुहरु सूर्य देवतासँग प्रार्थना गर्नुको साथै आफ्नो दुःख, कष्ट र रोग व्याधीको नास होस् भन्ने कामना समेतका लागि यो पर्व मनाउछन् ।
पुजा सामग्री, ढाकी, डाला, माटोको हात्ती, केरा, नैवेद्यका रुपमा भाती–भातीका परिकार तथा फलफूलहरु समावेश गरिने यस पर्वमा तराईवासी मात्र होइन पहाडी तथा मुस्लिम समुदायका व्यक्तिहरुले पनि श्रद्धापूर्ण रुपमा मनाउँन थालेका छन् ।
सक्नेले व्रतमा बस्ने, नसक्नेले फलफूल व्रतालुलाई दिएर सूर्यको आराधना गरिन्छ । भकक्तजनहरुले आ–आफनै इच्छा आकाक्षा मनोकामना राखेर छठपर्व मनाउदै आएको संचाकर्मी सुधा देवको बताउँछिन् । कसैले सन्तानका लागि त कसैले विभिन्न प्रकारको रोगबाट मुक्त हुने, श्री सम्पतीमा बृद्धि हुने लगायतका मान्याताका साथ छठपर्व मनाउने गरेको देवको भनाई छ ।
्धार्मिक ग्रन्थहरुमा सृष्टिको उषाकालदेखि नै छठ पर्वको शुरुवात भएको उल्लेख छ । सूर्यको उपासनाबाट सबै प्रकारका विरामीहरुबाट मुक्त हुन्छन् । मनमा कामना राखेर छठपर्व गर्नाले छालाको तथा चर्मरोग निको र पुत्रलाभ हुने वताउँछिन मैथिल महिला परिषद कि संस्थापक अध्यक्ष मिना ठाकुर ।
सर्वप्रथम अस्रिमुनिकी धर्मपत्नी एवं सफल दाम्पत्यजीवनका लागि कात्तिक शुक्लपक्ष षष्ठिका दिन यो पर्व गरेको सूर्यपुराणमा उल्लेख गरिएको छ र सोही समय देखि छठ पर्वको शुरुवात भएको मानिन्छ ।
छठपर्व मनाउने श्रद्धालुहरुले कात्तिक महिनाको प्रारम्भदेखि छठ नहुन्जेलसम्म तामेसी भोजन त्याग्ने गर्दछन् । उनीहरुले माछा, मासु, अण्डा, लसुन, प्याज जस्ता तामेसी भोजन त्यागी शाकाहारी हुन थाल्छन् ।
छठको ब्रत बस्ने ब्रतालुहरु छठको शुरुवातमा ‘चौथी’मा स्नान गरेर शाकाहारी भोजन ग्रहण गर्दछन्, जसलाई ‘अरवा अरवाइन’ वा ‘नहाइ खाय’ भनिन्छ । यसको अर्थ नुहाएर खानु हो । त्यस्तै पञ्चमीतिथीमा दिनभरी उपवास वसी नुहाई धुवाई गरी नयाँ वस्त्र धारण गरेर आ–आफ्नो इष्ट देवता भएको कोठामा पकाएको पुरी, गुँड, दूध र अरवा चामलको खीर र केरा अनिवार्य हुनुपर्दछ । देउता घरमा पकाएको प्रसाद पूजापछि ढोगेर घरपरिवारका सवै सदस्यमा वितरण गरिन्छ ।
षष्ठिको दिन दुल्ही जस्तै पोखरी, नदि, तलाउ, तथा अन्य जलाशयलाई सजाएर गंगाजल छर्की शुद्ध पारी अर्घका लागि त्यस स्थानमा पूजा सामग्री राखिन्छ । छठ अर्थात षष्ठिको दिन गहुँ, चामलको पिठोबाट बनाएको ठकुआ, भुसवा, केरा, ऊखु, मेवा, मिष्ठान, कन्दमूल, नरिवल, अम्वा, विभिन्न हरियो सागसब्जी, फलफूल सहित ढाकी, कोनिया र नाङ्गलोमा सजाएर जलाशयमा गएर अस्ताउँदो सूर्यलाई प्रथम अर्घ अर्पित गरिन्छ । जसलाई स्थानीय भाषामा सझिया घाट वा अरक भनिन्छ ।
षष्ठिको साँझ अर्घपछि पूजा सामग्री सहित जलाशयमा जागराम बसी मनोरञ्जन पनि गरिन्छ । जलाशय किनारमा अधिकांश श्रद्धालुभक्तजन पाल टांगेर जाग्राम वसी भजन–किर्तन गर्ने गरिन्छ ।
रातभरि जाग्राम नबस्ने श्रद्धालुहरु पूजा सामग्री घर ल्याई पुनः सप्तमीको विहान जलाशय लाने गर्दछ । सूर्यको प्रकास वाट कुनैकिसिमको घात नहुने भनेर अस्ताउदो र उदाउदो सूर्य लाई अर्घ दिईन्छ र प्राकृति स्रोतका सम्पन्नताका लागी कोनिया नाङलो छिटामा झारपात राखने गरेको वताउँछिन् शिक्षिका मंजु श्रेष्ठ ।
सप्तमीको विहान षष्टीका दिन दिएका अर्घका सामग्रीहरुलाई पुनः उदाउँदो सूर्यलाई अर्घ अरपित गरेर छठ पर्व समापन गरिन्छ ।
यस पर्वमा सूर्यको अर्चना एवं आराधना र पूजा आजा गरिएतापनि यसको लोकप्रियता एवं व्यापकता ‘छठ परमेश्वरी’ वा छठ माताको पूजाको रुपमा प्रचलित रहेको छ । वेदमा उल्लेख भए अनुसार उषालाई छठ परमेश्वरीको साक्षात् रुपमा पूजा आजा गर्ने मान्यता रहेको छ ।
ब्रतालु महिलासंगै परिवारका सदस्यहरु नयाँ लुगा र गरगहनामा सजिएका हुन्छन् । बिगतमा महिला मात्र ब्रतमा बस्ने चलन रहेकोमा केही वर्ष यता पुरुषहरु समेत ब्रत लिने गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको