शान्ता कमली
लमजुङ– एटीएम बुथबाट पैसा चोरी गर्ने विदेशी नागरिकहरु समेतको संगठित गिरोह नेपालमा सक्रिय रहेको रहस्य खुलेको छ ।
नेपालको कमजोर सुरक्षा प्रणालीको फाइदा उठाउँदै संगठित गिरोह अर्काको एटीएम पीन प्रयोग गरेर रकम झिक्ने कार्यमा सक्रिय रहेका छन् ।
अर्काको एटीएम बुथबाट रकम झिक्ने कार्यमा संलग्न रोमानियाका तीन नागरिकहरुलाई पक्राउ गरि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सीआइबीले सोमबार मात्रै सार्बजनिक गरेको छ ।
करिब २ वर्ष अगाडि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले एक टर्किस नागरिक मेहमत गुलेनलाई नेपालका एटिएम बुथबाट झिकिएको २६ लाख रुपैयाँसहित पक्राउ गरेको थियो ।
नेपालमा आएर अर्काको एटीएमबाट पैसा चोरी गरेको आरोपमा गुलेन पक्राउ पर्नुलाई सीआइबीले नौलो घटनाको रुपमा लिएको थियो ।
यस्ता घटनालाई खासै चासो नदिएको सीआइबी तब झस्कियो जब अनधिकृत रुपमा रकम झिक्ने विदेशी नागरिकहरुको खुलासा हुँदै गयो ।
एटीएम हृयाक गर्ने अन्तराष्ट्रिय गिरोह नेपालमा लगातार पक्राउ पर्न थालेपछि बैंकिङ सुरक्षा चुनौतिपूर्ण बन्न थालेको छ । सीआइबीका प्रमुख डिआइजी नवराज सिलवालका अनुसार नेपालका ३५ लाख एटीएम कार्डहरु जोखिममा छन् ।