नेपाल राष्ट्र ब्यांकले आफू र अनुमतिप्राप्त वित्तीय संस्थासंग झण्डै साढे तीन करोड रुपैयाँ बराबरको पाँच सय र एक हजार दरका भारतीय नोट रहेको भन्दै सटहीका लागि सहयोग गर्न भारतीय रिजर्भ ब्यांकलाई औपचारिक अनुरोध गरेको छ।
अधिकारीहरुका अनुसार, नेपालको परराष्ट्र मन्त्रालयले पनि काठमाण्डूस्थित भारतीय दूतावासमार्फत सोही आशयको औपचारिक पत्र पठाएको छ।
सोधपूछ
पाँच सय र एक हजार दरका नोटमाथि बन्देज लगाउने आकस्मिक भारतीय निर्णयपछि नेपालमा रहेको त्यस्ता रकमको सटहीबारे चिन्ता व्यक्त भइरहंदा पछिल्ला सरकारी कदम आएका छन्।
नेपाल राष्ट्र ब्यांकले सटहीका लागि अनुरोध गरेपछि भारतको केन्द्रिय ब्यांकले नेपालमा रहेको भारतीय नोटको परिमाणबारे सोधेको थियो, जसको जवाफ विहीबार पठाइएको बताइएको छ।
राष्ट्र ब्यांकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भने, “राष्ट्र ब्यांक र अन्य ब्यांक, वित्तीय संस्थासंग अढाई करोड लाख बराबरको भारु देखिन्छ भने होटल, ट्राभल, ट्रेकिंग व्यवसायसंग ८० लाखभन्दा बढी रहेको विवरण छ।”
तर मुद्रा सटही गर्ने कतिपय मनी एक्सचेञ्ज कम्पनीहरुले विवरण दिइनसकेको र सर्वसाधारणसंग रहेको रकमबारे पनि यकीन नभएकाले करिब चार करोड बराबरको पाँच सय र एक हजार दरका भारतीय नोट रहेको अधिकारीहरुको अनुमान छ।
सर्वसाधारण
सर्वसाधारणसंग रहेको भारतीय नोट सटहीबारे चाहिँ राष्ट्र ब्यांकले के गरिरहेको छ?
जवाफमा ब्यांकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगाना भन्छन्, “सर्वसाधारणले २५ हजारसम्म भारु राख्न पाउने व्यवस्था थियो। त्यही अनुसारको परिमाण साट्न पाउनुपर्छ भन्ने अनुरोध पनि भारतीय पक्षलाई गरेका छौं।”
भारतीय रिजर्भ ब्यांकले मात्रै सटहीबारे निर्णय गर्न नसक्ने भएकाले भारत सरकारलाई पनि औपचारिक अनुरोध गरिएको अधिकारीहरुले बताएका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेल भन्छन्, “राष्ट्र ब्यांक र अर्थ मन्त्रालयबाट मौज्दात रहेको पाँच सय र एक हजारको भारतीय नोट कहां, कसरी जम्मा गर्ने भन्नेबारे भारतको आधिकारिक धारणा बुझ्न हामीलाई अनुरोध भएको थियो। सोही अनुसार हामीले भारत सरकारलाई लेखेर पठाइसकेका छौं।”
भारतभित्र डिसेम्बरको अन्त्यसम्म सटही गरिसक्न भनिएको छ।
सोही अवधिभित्र नेपालमा रहेको भारतीय नोट पनि साट्न सकिने गरी भारतले छिटो व्यवस्था गरिदिने अधिकारीहरुको अपेक्षा देखिन्छ। -वीवीसी नेपाली