काठमाडौं – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनलाई थाँती राखी चुनावमा गए मुलुक द्वन्द्वतर्फ जाने चेतावनी दिएका छन् ।
उनले संविधान संशोधनको विकल्प नरहेको बताउँदै मुलुकको वर्तमान राजनीतिक गत्यावरोध फुकाउने एकमात्रै बाटो भनेको संविधान संशोधन नै भएको बताए ।
‘संविधान संशोधन गर्नुको विकल्प छैन, सरकारले संशोधन प्रस्ताव दर्ता गरेको छ, त्यो पनि अपूरो र अधुरो छ, प्रधानमन्त्रीले त यो प्रस्तावलाई परिमार्जन गर्छु भन्नुभएको छ, परिमार्जन भएर तीन वटै निकायको चुनाव गर्ने कुरा गर्नुभएको छ ।’ अध्यक्ष यादवले भने ।
उनले प्रमुख नेपाली कांग्रेसले अहिले दोधारे चरित्र देखाएको आरोप समेत लगाएका छन् । यादवले भने,‘अहिले काँग्रेस र एमाले गणतन्त्र र संघीयता समाप्त पार्ने खेलमा लागेका छन् ।’
उनले प्रमुख सत्तारुढ दल काँग्रेसले दोधारे चरित्र देखाएको आन्दोलनका उपलब्धिहरु संकटमा पर्न लागेको बताए । यादवले भने,‘काँग्रेसले अहिले दोधारे चरित्र देखाएको छ, नेताहरुले संविधान संशोधन गर्नुपर्छ भन्ने अनि जिल्लामा कार्यकर्ता उतारेर संशोधनको विरुद्धमा आन्दोलन मच्चाउने, यो दोधारे चरित्र हो ।’







