सबैको सहभागितामा अधिवेशन हुनु पर्दछ: पूर्व अध्यक्षहरु

राजविराज । नेपाल पत्रकार महासंघको निर्देशन अनुरुप सप्तरी शाखामा यही फाल्गुण ७ गते हुने निर्धारित अधिवेशनलाई लक्षित गरी आज बुधबार दुई छुट्टा–छुट्टै विज्ञप्ति जारी गरिएको छ ।

नेपाल पत्रकार महासँघ शाखा सप्तरीद्वारा जारी गरिएको विज्ञप्तिले निर्धारित फाल्गुण ७ गतेकै तिथिमितिमा शाखा अधिवेशन गरिने र सो सम्बन्धमा विभिन्न माध्यमबाट जारी गरिएको विज्ञप्तिको भ्रममा नपरी अधिवेशनमा सहभागी हुन सवैमा आह्वान गरिएको छ ।
महासँघका अध्यक्ष प्रकाश खतिबडा र सचिव ओमप्रकाश साहद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “नेपाल पत्रकार महासंघको विधान विपरित सप्तरी शाखामा बिशेष साधारण सभाका नाममा महासंघको समानान्तर शाखा गठन गर्ने गतिविधि गरिएको हुँदा सो को नाममा जारी भएको विज्ञप्ति र भ्रमको पछि नलाग्न सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछौं ।”
अध्यक्ष खतिबडा र सचिव साहले जारी गरेको ४बुँदे विज्ञप्तिमा मापदण्ड पुगेका केहि पत्रकारलाई सदस्यताका लागि सिफारिश गरिएकै हो तर पत्रकारको नाममा आफुलाई माथि ठान्ने, ग्रामिण पत्रकारिता गरि रहेकाहरु सदस्य नै बन्न हुँदैन भन्ने मनोगत सोच राख्नेहरुले विभिन्न उपमा दिई कुप्रचार गरी सिर्जना गरेको भ्रमबाट बच्न आग्रह गरिएको छ ।
यता सप्तरी शाखाका ७ जनै पूर्व अध्यक्षहरुले एक संयुक्त विज्ञप्ति जारी गर्दै सबैलाई समेटेर जान सुझाव दिंदै सबैलाई एकताबद्ध गराउन जुन सुकै समयमा हामी तैयार रहेको जनाईएको छ ।
सप्तरी शाखाका पूर्व अध्यक्षहरु शिवहरीप्रसाद भट्टराई, विष्णुकुमार मण्डल, बैद्यनाथ झा, मुरलीप्रसाद यादव, शम्भुकुमार झा, व्यासशंकर उपाध्याय र धीरेन्द्रप्रसाद साहद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ–“ महासंघ आवद्ध सम्पूर्ण साथीहरुलाई विगतका तीता मीठाको स्मरण भन्दा पनि संस्थाको भविष्य सुनिश्चिततालाई प्राथमिकतामा राखेर अघि बढ्दै समझदारीको मार्ग प्रशस्त गर्ने पवित्र काममा लाग्न आग्रह गर्दछौं । यसका लागि आफुहरुको आवश्यकता बोध भए सधै समन्वयका लागि तयार रहने विश्वास दिलाउँछौं ।”
ज्ञात रहोस केन्द्रको निर्देशन अनुरुप पूर्वाञ्चलका सबै जिल्लामा फाल्गुण ७ गते शाखा अधिवेशन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको