काठमाडौ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले एमाले उपाध्यक्ष वामदेव गौतमलाई घेराउवन्दीको प्रयास गरेका छन् ।
जनकपुरको ब्रम्हपुरीटोलस्थित एमालेको भ्रातृ संगठन मधेसी लोकतान्त्रिक संगठनका केन्द्रीय अध्यक्ष रघुवीर महासेठको घरमा बास बस्न पुगेका गौतमलाई मोर्चाका कार्यकर्ताले घेराउ गर्न खोजेका थिए । सोही क्रममा, मोर्चा र नेकपा (एमाले)का कार्यकर्ताबीच धनुषाको जनकपुरमा झडप भएको छ ।
झडपमा मोर्चाका दुईजना कार्यकर्ता घाइते भएका छन् । एमालेले पनि आफ्ना केही कार्यकर्ता घाइते भएको जनाएको छ । मोर्चाका नेता एवं तमलोपाका जिल्ला अध्यक्ष परमेश्वर साहले एमालेका कार्यकर्ताहरुले प्रदर्शनकारी माथि घेरा हालेर कुटपिट गरेको आरोप लगाए ।
उनका अनुसार रघुनाथपुर–१ का राजकुमार साह र कुलदीप साह घाइते छन् । राजकुमारको खुट्टा भाँचिएको छ । बुधबार मधेस बन्दको क्रममा प्रदर्शनमा रहेका मोर्चाका कार्यकर्ताले महासेठको घरमा एमाले उपाध्यक्ष वामदेव गौतम बसेको थाहा पाएपछि घेराउ गर्न पुगेका थिए ।
त्यस क्रममा दुवै तर्फबाट ढुंगामुढा भएको प्रहरीले जनाएको छ । झडपका कारण केहीबेर ब्रम्हपुरीटोल तनावग्रस्त बनेको थियो । प्रहरीले घटनालाई निणन्त्रणमा लिएको छ । एमाले उपाध्यक्ष गौतम मंगलबार नै जनकपुर आएका थिए । धनुषाको सीमावर्ती गाउँमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन गौतम त्यहाँ आएका हुन् ।
गौतमविरुद्ध मंगलबारदेखि मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेका थिए । स्थानीय तहको निर्वाचन घोषणाविरुद्ध मोर्चाले गरेको मधेस बन्दको पहिलो दिन जनकपुर बजार पनि पूर्णरुपमा ठप्प रहेको र मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेको बताइएको छ ।