नयाँदिल्ली । भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ९ईपीजी०ले तयार पारेको प्रतिवेदन पुरानो भइसकेको प्रतिक्रिया दिएका छन्।
नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको २ दिने भारत भ्रमण सम्पन्न भएपछि सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ईपीजीले तयार पारेको प्रतिवेदनबारे सोधिएको प्रश्नमा सचिव मिस्त्रीले त्यो प्रतिवेदनको कुरा अहिले सान्दर्भिक नभएको टिप्पणी गरेका हुन्।
उनले भने, ‘म भन्न चाहन्छु, त्यो विगतको विषय हो। हामी भविष्यकेन्द्रित दृष्टिकोण अपनाइरहेका छौँ। हामी पछाडि फर्केर हेरिरहेका छैनौँ। त्यसैले त्यो प्रतिवेदन अहिलेको सन्दर्भमा सान्दर्भिक छैन, किनकि त्यो पुरानो विषय हो।’
अहिले दुवै देश भविष्यतर्फ केन्द्रित भएर अघि बढ्नुपर्ने धारणा राख्दै अब पुराना विषय सान्दर्भिक नहुने मिस्त्रीको भनाई छ।
नेपाल–भारत सीमा सम्बन्धी विषयलाई सम्बोधन गर्न दुवै देशका परराष्ट्र सचिवलाई दुवै देशका प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए। दुई देशका सीमा व्यवस्थापनका विषयमा विभिन्न तहका संयन्त्र क्रियाशील रहेको भन्दै मिस्त्रीले ती संयन्त्रमार्फत प्राप्त सुझावका आधारमा परराष्ट्र सचिवहरूले थप काम गर्ने बताए।
मिस्रीले भने, ‘दुई देशबीच सीमा व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयलाई सम्बोधन गर्न बहुस्तरीय संरचना छ। सबैभन्दा तल्लो तहमा प्राविधिक टोलीहरू छन्, जसले वरिष्ठ अधिकारीहरूको समितिमा प्रतिवेदन पेस गर्छन्। यसका साथै सीमा कार्यदल पनि क्रियाशील छ।’
उनले पछिल्ला वर्षहरूमा नेपाल–भारत सीमा व्यवस्थापनका प्राविधिक काममा उल्लेखनीय प्रगति भएको मिस्त्रीले दाबी गरे।
‘पछिल्ला वर्षहरूमा प्राविधिक तहमा धेरै काम भएका छन्। दुई देशबीच सहमति भइसकेको सीमाको ठूलो हिस्सामा सीमा स्तम्भको मर्मतसम्भार गर्ने र अतिक्रमणसम्बन्धी प्रतिवेदनको अनुसन्धान गर्नेलगायतका काम भइरहेका छन्’, मिस्त्रीले भने।
नेपाल र भारतका प्रधानमन्त्रीहरुले स्वीकृत गरेको संयुक्त दृष्टिकोणपत्रमा समेत यी विषय प्रतिबिम्बित भएको मिस्त्रीको भनाई छ।
‘निकट भविष्यमा सीमा सम्बन्धी विषय हेर्ने विद्यमान संयन्त्रको बैठक पनि बस्ने मेरो अपेक्षा छ’, उनले भने।
हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरेको छलफलको मर्म र संयुक्त दृष्टिकोणपत्रको भावना अनुसार आगामी दिनमा दुवै देश भविष्य केन्द्रित भएर अघि बढ्ने मिस्त्रीले बताए।
‘हामीले अगाडि हेर्नुपर्छ, भविष्यतर्फ केन्द्रित हुनुपर्छ। आज दुवै देशका नेताहरूले घोषणा गर्नुभएको संयुक्त दृष्टिकोणपत्रको दूरदर्शी सोचअनुसार नै अघि बढ्नुपर्छ’, मिस्रीले भने।
त्यसबाहेक, गोर्खा भर्ति केन्द्रको विषयमा भने वालेन्द्र शाहको भारत भ्रमणको विषयमा छलफल नभएको मिस्त्रीले बताएका छन्।







