काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भ्रमणलक्षित भारतीय राजधानी नयाँ दिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ । प्रधानमन्त्री शाहको राजकीय भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झन्डा राखेर स्वागतको वातावरण तयार पारिएको हो ।
प्रधानमन्त्री शाह आइतबार (मंसिर ६) दुईदिने राजकीय भ्रमणका निम्ति भारत जान लागेका छन् । उनको स्वागतका निम्ति दिल्लीका सडक तथा विभिन्न स्थानमा दुवै देशका झन्डा पोलमा राखिएका छन् ।
नेपाल र भारतका झन्डाले सजिएका सडकले प्रधानमन्त्री शाहको भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको संकेत गरेको छ । दुईदिने भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय छलफलपछि उनी सोमबार (मंसिर ७) स्वदेश फर्कने तय छ ।
प्रधानमन्त्री शाहको यो भ्रमणलाई नेपाल–भारत सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ । राजकीय भ्रमणका क्रममा हुने भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र समझदारीका विषयमा छलफल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ







