राजविराज/ दिएको पैसालाई ७२ घण्टाभित्र दुईगुणा देखि चारगुणा बनाइदिने आश्वासन । सुन्दा पत्याउनै नसकिने यो प्रलोभनले धेरैलाई लोभ्यायो । सुरुमा सानो रकमलाई चमत्कारिक ढङ्गले चौब्बरसम्म बनाएर फिर्ता गरिदिने नाममा  धेरै जनाले लाखौं लगानी गरे । कसैले बैंकबाट ऋण लिए, कसैले साथीभाइसँग सापटी मागे त कसैले घरपरिवारको बचत रकम समेत जुटाएर बुझाए । तर, पैसा बुझाएको केही दिनपछि चौब्बर रकम पाउने आशा निराशामा परिणत भयो ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ का हनुमानी भन्ने रामबहादुर रजक माथि यस्तै प्रलोभन देखाएर लामो समयदेखि ठगी धन्दा चलाएको आरोप लागेको छ ।
उनको प्रलोभनमा परेर सप्तरी, सुनसरी, सिरहा र उदयपुरका दुई सय १० भन्दा बढी व्यक्ति ठगिएको र २५ करोड रुपियाँभन्दा बढी रकम हिनामिना भएको पीडितहरूको दाबी छ ।
ठगीमा परेको रकम फिर्ता र दोषीमाथि कारबाहीको माग गर्दै चार जिल्लाका पीडितहरू अहिले एकजुट भएका छन् ।
शुक्रबार सप्तरीको सुरुङ्गा नगरपालिका ४ कदमाहामा भेला भएका उनीहरूले पत्रकार सम्मेलन गरी न्यायका लागि सामूहिक आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
पीडितहरूले न्याय नपाए सामूहिक आत्मदाह गर्नेसम्मको चेतावनी दिएपछि घटनाले थप गम्भीर रुप लिएको छ ।
पीडित मध्येका सुरुङ्गा नगरपालिका ४ का सन्तोष चौधरीका अनुसार रजकले सुरुमा घरमै बोलाएर एक हजार रुपियाँलाई आफ्नै आँखा अगाडि चार हजार रुपियाँमा परिणत गरिदिएको देखाएका थिए । सामान्य व्यक्तिले सहजै पत्याउन नसक्ने यस्तो प्रदर्शनपछि आफूले उनको कुरामा विश्वास गरेको चौधरी बताउँछन् ।
त्यही विश्वासका आधारमा चौधरीले भोलिपल्टै बैंक तथा साथीभाइबाट ऋण र सापटी लिएर ६५ लाख रुपियाँ जुटाई बुझाएको बताए । तर, रकम बुझाएपछि भने कहिले मेसिन बिग्रिएको, कहिले केमिकल सकिएको त कहिले श्रीमती गम्भीर बिरामी परेको बहाना बनाउँदै रकम फिर्ता गर्न आनाकानी गरेको उनको गुनासो छ ।
चौधरीको जस्तै अनुभव अन्य जिल्लाका पीडितहरूको पनि छ । पत्रकार सम्मेलनमा सिरहाका नागेश्वर पासवानले ३० लाख, सुनसरीका महेश यादवले ५५ लाख र उदयपुरका मन्जिल कार्कीले २५ लाख रुपियाँ ठगिएको जानकारी दिए । उनीहरुका अनुसार यी तीन जनाबाट मात्रै एक करोड १० लाख रुपियाँ ठगी भएको छ ।
पीडितहरूका अनुसार रजकले सुरुमा सानो रकमलाई चौब्बर बनाएर देखाउने र त्यसपछि ठूलो रकम लगानी गर्न प्रेरित गर्ने गरेको पाइएको छ । रकम बुझिसकेपछि भने विभिन्न बहाना बनाएर समय बिताउने गरेको उनीहरूको आरोप छ ।
रजक पक्राउ परेपछि अन्य जिल्लाका पीडितसमेत सम्पर्कमा आउन थालेको उनीहरुले बताएका छन् । चार जिल्लामा मात्रै नभई अन्य स्थानमा समेत यस्तै गतिविधि सञ्चालन भएको हुन सक्ने आशङ्का गर्दै पीडितहरूले घटनाको विस्तृत अनुसन्धान गर्न माग गरेका छन् ।
हाल प्रहरी हिरासतमा रहेका रजकमाथि निष्पक्ष छानबिन गरी ठगीमा परेको सम्पूर्ण रकम फिर्ता गराउन, घटनामा संलग्न अन्य व्यक्तिको पहिचान गर्न तथा सम्भावित गिरोहका सदस्यलाई समेत कानुनी दायरामा ल्याउन पीडितहरूको माग छ ।
सप्तरीका प्रहरी उपरीक्षक रुपक खड्काले केही दिनअघि पक्राउ परेका रजकलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
1
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको