काठमाडौं । लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको उपाधि जितेको छ । योसँगै टोलीले उपविजतोको ‘डेडलक’ तोडेको छ । यसअघिका दुवै सिजन फाइनलमा पुग्दा सुदूरपश्चिमले क्रमशः पाँच र ६ विकेटको हार व्यहोरेको थियो ।
शनिबार (मंसिर ५) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंंगशालामा सुदूरपश्चिमले लुम्बिनीले प्रस्तुत गरेको १५६ रनको लक्ष्य १३.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । सुदूरपश्चिमको जितमा जर्ज मुन्से निर्णायक बने । उनले १२६ रनको अविजित शतकीय पारी खेल्दै टोलीलाई उपाधि दिलाए ।
यसअघिका खेलअन्तर्गत उनी क्वालिफायर्स १ मा रोयल डकआउट भएका थिए । क्वालिफायर्स २ मा आठ रन बनाएर पभेलियन फर्किएका थिए । फाइनलमा भने उनले विस्फोटक पारी खेल्दै आठ चौका र १२ छक्का प्रहार गरे ।
योसँगै उनी यसपालि शतक प्रहार गर्ने तेस्रो ब्याटर बने । चितवन राइनोजका कमिल मसिरा र पोखरा एभेन्जर्सका ओपनर युवराज सम्राले यसअघि शतक प्रहार गरेका थिए ।
सुदूरपश्चिमका अर्का ओपनर विनोद भण्डारीले ३० रन बनाए । उनले २७ बलमा तीन चौका प्रहार गरे । उनीहरूले १५६ रनको अविजित साझेदारी गरे ।
जर्जको बाउन्ड्री प्रहार अन्तिम समयसम्म पनि रोकिएन । उनले अन्तिम बलमा छक्का प्रहार गरे ।
खेलमा लुम्बिनीले मुन्सेले सस्तैमा पभेलियन फर्काउने मौका पनि पाएको थियो । उनले ६.३ ओभरमा जीवनदान पाएका हुन् । मुन्सेले लुम्बिनीका डार्सी सर्टविरुद्ध चौकाको प्रयास गर्दा सन्दीप जोराले क्याच लिन खोजेका थिए । तर, अन्तिम समयमा सन्दीपको हातबाट बल ड्रप हुन पुगेको थियो । त्यसपछि सोही बलमा एक रन लिएका उनलाई डर्सीले पुनः रनआउटको प्रयास गरे पनि सफल हुन सकेको थिएन ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले सुदूरपश्चिमविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो ।
लुम्बिनीका निम्ति अविजित रहेका दिलीप नाथले ३९ रन बनाए । पहिलो इनिङमा यो कुनै पनि खेलाडीले बनाएको व्यक्तिगत सर्वाधिक रन बन्यो । उनको इनिङले मध्यक्रममा टिममा सन्तुलन कायम गर्न सहयोगी भूमिका खेल्यो ।
उनी क्रिजमा प्रवेश गर्दा लुम्बिनीले ७.०० को रनरेट बनाएको थियो । उनले अविजित रहँदै टोलीको रनरेट ७.६८ सम्म कायम गराएका थिए । दिलीपले चौथो विकेटका निम्ति ३४ रनको साझेदारी गरे । उनले ३१ बलमा तीन छक्का प्रहार गरे ।
कप्तान रोहितकुमार पौडेल ३० रन बनाएर पभेलियन फर्किए । निरोसन डिक्वेलाले २८ रन जोडे ।
नवौँ नम्बरमा ब्याटिङ गर्न आएका अलि शेखले २४ रन बनाए । उनले १२ बलमा समान दुई चौका र छक्का प्रहार गरे ।
ओपनर डार्सीले २१ रनको योगदान गरे । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । सन्दीप जोरा र अविजित रहेका रुबेन ट्रम्पेलमनले समान चार रन बनाए । ओपनर आसिफ शेख एक रनमा आउट भए ।
खेलमा पिच रोपर्टिङ गर्ने क्रममा इंग्लिस कमेन्टेटर ग्रेम स्वानले टोलीले सजहै १६० भन्दा माथिको योगफल बनाउन सक्ने अनुमान व्यक्त गरेका थिए । तर, सुदूरपश्चिमले सुरुआतदेखि नै बलिङबाट लुम्बिनीलाई दबाबमा राखेर उक्त योगफलमा रोक्यो ।
सुदूरपश्चिम रोयल्सका निम्ति स्कट कुगेलेइनले दुई विकेट लिए । उनले २.२ ओभरमै ओपनर आसिफलाई एलबीडब्ल्यूको सिकार बनाएर अर्ली विकेट दिलाए । लुम्बिनीले उक्त बलिङमा डीआरएसको अपिल गरेको थियो । तर, टीभी अम्पायरले अनफिल्ड अम्पायरको एलबीडब्ल्यूलाई सदर गरेपछि उनी पभेलिएन फर्किका हुन् । उनले चार बल खेल्दा एक रन मात्र जोड्न सके ।
त्यसपछि उनले १६.२ ओभरमा दोस्रो विकेटका रूपमा सन्दीप जोरालाई कप्तान दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए । स्कटविरुद्ध सन्दीपले सटको प्रयास गर्दा मिडअफमा रहेका ऐरीले सहजै क्याच गरेका थिए ।
हेमन्त धामीले एक विकेट लिए । उनले अलीलाई १९.३ ओभरमा स्कटबाट क्याच गराएका थिए । अली आउट भएपछि टोलीको सबै ब्याटिङ विकल्प समाप्त भएको थियो ।
थरिन्दु रत्नायकेले एक विकेट लिए । थरिन्दुले डिक्वेलालाई क्लिन बोल्ड गरेका हुन् । उनको विकेटपछि लुम्बिनीले मध्यक्रमको मुख्य खम्बा गुमायो । उनी र कप्तान रोहितबीचको ३९ रनको साझेदारी तोडिएको थियो ।
कप्तान दीपेन्द्रले पनि एक विकेट लिए । दीपेन्द्रले २.२ ओभरमा डार्सीलाई क्लिन बोल्ड गरे । डार्सी पभेलिएन फर्किपछि उनी र कप्तान रोहितबीचको ३० रनको साझेदारी तोडिएको थियो ।
हारसँगै लुम्बिनी उपविजेतामा सीमित भएको छ । यस सिजन साबिक विजेताको ताज पहिरिएर फाइनल खेलेको टोली उपाधि रक्षा गर्न चुक्यो । र, पहिलोपटक उपविजेता बन्यो ।







