काडमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेतृत्वमा आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पाँच पटक भेटवार्ता गरिसकेको बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट र संवाद गर्नु आफ्नो जिम्मेवारीभित्र पर्ने बताएका हुन् ।
‘मैले कांग्रेसको सभापति भइसकेपछि केपी ओलीलाई पाँच चोटि भेटेको छु । अस्ति मैले पाँचौँ पटक भेटेँ,’ उनले भने, ‘म कांग्रेस सभापति हुँ, एमालेको अध्यक्षसँग मेरो भेटघाट हुन्छ, माओवादी अध्यक्षसँग भेटघाट हुन्छ, रास्वपाको सभापतिसँग भेटघाट हुन्छ । प्रधानमन्त्रीले कोहीसँग भेटघाट नगर्ने भएको हुनाले उहाँसँग हुँदैन, बाँकी सबैसँग हुन्छ ।’थापाले प्रदेश सरकारका विषयमा विभिन्न दलका नेताबीच छलफल र संवाद हुनु स्वाभाविक रहेको पनि बताए ।







